अन्तर्राष्ट्रिय प्रदर्शनीको शृङ्खलाको एक हिस्साका रूपमा ‘लैनसिंह बाङदेल: माउन्टेन्स एन्ड माइग्रेशन’ लाई मंगलबारसम्म लन्डनको ‘फाइन आर्टस् अक्शन हाउस एन्ड भ्यालुअर्स’ मा राखिंदै छ। कात्तिक २५ देखि शुरू भएको प्रदर्शनीलाई लिलामीमा परिणत गरिएको हो जुन मंसीर ५ सम्म चल्नेछ। यसमा बाङदेलका छानिएका २४ चित्रकला राखिएका छन्।
शुरूमा प्रदर्शनी मात्र भनिए पनि पछि बजार परीक्षण गर्ने प्रयत्नस्वरूप यसलाई लिलामीमा परिणत गरिएको छ। प्रदर्शनीमा राखिएको ‘सङ अफ हिमालय’ चित्रकला सबैभन्दा महँगोमा बिक्री भएको छ।
सन् १९१९ मा दार्जीलिङमा जन्मिएका लैनसिंह बाङदेलले विभिन्न महादेश र संस्कृतिको गतिशील यात्रा गर्दै बहुआयामिक जीवन बाँचे।
उनी नेपाल कला परिषद्को महासचिव भए। नेपाली कलाको पुनर्जागरणलाई अघि बढाए। धेरै किताब लेखे। तीमध्ये एउटा थियो, सन् १९८० मा प्रकाशित स्टोलन इमेजेज् अफ नेपाल। यो पुस्तकले नेपालबाट चोरिएका कलाकृतिलाई घर फर्काउन सहयोग गर्यो।