कवि भूपी शेरचनबारे लेखिएको पुस्तक ‘भूपी’ लोकार्पण गरिएको छ । काठमाडौंको म्यारियट होटलमा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रा.अभि सुवेदी, वनस्पतिविद् वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ, भूपी पत्नी कान्ति शेरचन र भूपीकी छोरी एवम् लेखक कविता शेरचनले पुस्तक लोकार्पण गरे । पुस्तकमा भूपीकी छोरी कविताले आफूले चिनेका बुबा, उनले भोगेको समाज, उनलाई लागेका लाञ्छनालाई सूक्ष्म किसिमले प्रस्तुत गरेकी छन् ।
कार्यक्रममा पत्रकार देवेन्द्र भट्टराईसँगको संवादमा लेखक कविताले पुस्तक लेखनको औचित्यसमेत प्रस्ट्याइन् । उनले आफ्ना पिता भूपीका विषयमा आम रूपमा प्रचलित कतिपय धारणा एवम् वास्तविकताबारे प्रकाश पारिन् ।
‘मलाई एक/दुई कक्षा पढ्दा भूपी शेरचनकी छोरी हुँ भन्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो,’ रक्सी पिएको विषयमा आफ्ना बाबुको बढी आलोचना भएको सम्झिँदै उनले भनिन्, ‘तर चार/पाँच कक्षा पढ्ने बेलासम्म मेरो स्कुलका शिक्षकदेखि समाजका लब्धप्रतिष्ठित व्यक्ति सबै म त तिम्रो बुबाको ठूलो फ्यान हुँ नि भन्दै आएपछि छोरी हुँ भनेर चिनिनमा गर्व लाग्न थाल्यो ।’ आफ्नो घरमा जति पनि मानिस आउँथे, उनीहरू सबै भूपीका प्रशंसक भएको देखेपछि त झनै बुबाको महत्त्व बुझेको उनको भनाइ छ ।
पुस्तकमा कविताले आफूले चिनेका बुबा, उनले भोगेको समाज, उनलाई लागेका लाञ्छना आदिलाई सूक्ष्म किसिमले प्रस्तुत गरेको श्रेष्ठले बताए । ‘पुस्तकमा आमा नहुनुको पीडा मात्र देखाइएको छैन,’ श्रेष्ठले भने, ‘आमाटोकुवाका रूपमा आफूलाई लाञ्छना लाग्दा भूपी विक्षिप्त बनेका आदि विषयलाई पनि बडो मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।’
भूपी पत्नी कान्तिले भूपीले जुनसुकै रचना लेखिसकेपछि आफूलाई सुनाउने गरेको बताइन् । भूपीको निधन भएको ३५ वर्षपछि आफ्नी छोरीले बाबुलाई सम्झिएर यति सुन्दर पुस्तक लेखेकामा आफूलाई गौरवबोध भएको उनको भनाइ छ । ‘भूपीजीका विषयमा छोरीले यसरी पुस्तक लेख्दा मलाई साह्रै खुसी लागेको छ,’ उनले भनिन् । कार्यक्रममा फाइनप्रिन्टका नीरज भारीले सर्वकालीन कवि भूपी शेरचनका विषयमा लेखिएको कृति प्रकाशन गर्न पाउँदा खुसी लागेको बताए ।