काठमाडौँ महानगरपालिकाले लिच्छविकालीन अभिलेखका कारण ऐतिहासिक धार्मिक र पुरातात्विक महत्त्वको इन्द्रसभा पुननिर्माण गरेको छ । वडा नं. १९ मा रहेको इन्द्रसभा इन्द्रजात्रा पर्वसँग सम्बन्धित छ ।
संस्कृतिविद् डा. चुन्दा बज्राचार्यले लिच्छिविकालीन अभिलेख र इन्द्रजात्रा कथासँग सम्बन्धित भएका कारण इन्द्रसभाको धार्मिक तथा पुरातात्विक महत्त्व रहेको बताइन् । ‘सभा क्षेत्रका अभिलेखहरू लिच्छविकालीन हुन् । त्यसकारण पनि यसको सांस्कृतिक, ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व छ,’ उनले भनिन् ।
पुनर्निर्माणका क्रममा २ वटा ठूला प्रवेशद्वार, एउटा ठूलो र एउटा सानो फल्चा (पाटी), दू ब्यंकेगु (नेवार समुदायले मानिसको मृत्युपछि दुःखबाट मुक्त हुन गर्ने संस्कार) घर निर्माण भएका छन् । यस्तै भुइँमा इटा, ढुङ्गा बिछ्याउने, आकाशे पानी संकलन र पुनर्भरण प्रणाली जडानलगायत काम भएका छन् । पुनर्निर्माण भएका फल्चामध्ये एउटा १३ मिटर लम्बाइ र ३ मिटर चौडाइ र अर्को ४ मिटर लम्बाइ र ३ मिटर चौडाइ आकारका छन् ।