जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना

उपन्यासकार हृदयचन्द्रसिंह प्रधानका औपन्यासिक प्रवृत्तिहरू

हीरामणि शर्मा पौड्याल हीरामणि शर्मा पौड्याल
प्रकाशित २८ मंसिर २०७९, बुधबार
समालोचना भित्र
0
उपन्यासकार हृदयचन्द्रसिंह प्रधानका औपन्यासिक प्रवृत्तिहरू

हृदयचन्द्रको साहित्यिक व्यक्तित्व

उपन्यासकार हृदयचन्द्रसिंह प्रधान नेपाली उपन्यास परम्पराका एक अविस्मरणीय प्रतिभा हुन् । नेपाली उपन्यासमा प्रगतिशील चिन्तन परम्पराको थालनी उनबाटै भएको हो । रूढिग्रस्त सामाजिक कुपरम्पराका विरूद्ध संभावित विकल्पको वैचारिक रूपरेखा प्रस्तुत गर्नु उनका उपन्यास कलाको महत्वपूर्ण देन मानिन्छ । सामाजिक जागरणका लागि रूढिमुक्त प्रगतिशील चेतना मुखरित गर्नमा उनका उपन्यासहरूको अग्रणी भूमिका रहेको छ । उपन्यासकार प्रधानको जन्म वि.सं. १९७२ साल माघ महिनामा काठमाडौंको ढोकाटोलमा भएको हो । क्षयरोगबाट पीडित भएर उनले निकै कष्टसाध्य जीवन बिताउनु परेको थियो । जीवनभर आर्थिक गरिबीका विरुद्ध संघर्ष गरेर बाँच्ने हृदयचन्द्रको मृत्यु २०१६ साल माघमा भएको हो । आफ्नो जीवनमा आर्थिक विपन्नताको पीडा र विवशता भोग्नु परेकाले उनका साहित्यिक रचनामा समाजका विपन्न वर्गमाथि गम्भीर सहानुभूति पाइन्छ । उनका साहित्यिक रचनाले उत्पीडित वर्गलाई दयनीय तथा अशक्त रूपमा प्रस्तुत नगरी उत्पीडनका विरूद्ध संघर्ष गर्न सक्षम व्यक्तिका रूपमा पेश गरेका छन् । उत्पीडित वर्गका संगठित शक्तिमा हृदयचन्द्रको अमोध विश्वास छ – तिनीहरू एकजुट भएका खण्डमा उत्पीडक वर्गलाई सजिलै परास्त गर्न सक्छन् ।

हृदयचन्द्रसिंह प्रधानले कविता, कथा, उपन्यास, नाटक, निबन्ध र समालोचना जस्ता विधाहरूमा रचनात्मक योगदान दिएका छन् र उनको साहित्यिक व्यक्तित्व बहुआयामिक रहेको छ । गरीबका आर्तनाद र विद्रोही चेतना मुखरित गर्ने फुटकर कविताहरूबाट उनका कवि व्यक्तित्वको पहिचान पाइन्छ भने उनको आँशु (२०१२) र हृदयचन्द्रका केही कथाहरू(२०२५) जस्ता कथा संग्रहहरूबाट उनका कथाकारिताको चिनारी पाउन सकिन्छ । भूस्वर्ग (२००३), जुँगा (२००९), तीस रूपैयाको नोट (२००४), कुरा साँचो हो (२०११) र अफसोस (२०२७) जस्ता निबन्ध संग्रहहरूले उनलाई आत्मपरक निबन्धकारका रूपमा चिनाएका छन् । नाट्यविधातर्फ उनले उनी देवता हुन् (२०१५), कीर्तिपुरको युद्धमा (२०१६), छेउ लागेर (२००६), गंगालालको चिता (२०११) जस्ता एकांकी संकलनहरू प्रकाशित गरेका छन् । साहित्यका सृजनात्मक विधाका साथै सृजनाको आस्वादन र मूल्यांकनतर्फ पनि उनको अभिरुचि देखापर्दछ । उनी स्रष्टा र द्रष्टा दुवै हुन् भन्ने कुरा उनका समालोचना कृतिहरूबाट स्पष्ट रूपमा झल्कन्छ । उनका समालोचना कृतिहरू साहित्य एक दृष्टिकोण (२००४), भानुभक्त एक समीक्षा (२०१३), नेपाली काव्य र उसका प्रतिनिधि कवि (२०२१) र केही नेपाली नाटक (२०२७) यी समालोचना कृतिहरूमा अतिरिक्त प्रधानले नेपाली भाषाका व्याकरणसम्बन्धी पुस्तकहरू पनि देखिन्छ । चिन्ह परिचय (२००२), शब्द शुद्धि र विचार (२००४), शिशु शिक्षण कला (२००५), शब्द शुद्धि विज्ञान (२०११) नामक पुस्तकहरू उनका भाषिक व्याकरणसम्बन्धी अभिरुचिका प्रतिफल हुन् । उपन्यास विधामा पनि हृदयचन्द्रको उल्लेखनीय योगदान देखिन्छ । उनले स्वास्नीमान्छे (२०११) र एक चिहान (२०१७) नामक दुइटा उपन्यास लेखेका छन् र यी दुवै उपन्यासका माध्यमबाट उनी प्रगतिशील उपन्यासकारका रूपमा चर्चित भएका छन् । वास्तवमा नेपाली उपन्यास परम्परामा प्रगतिशील चिन्तनको सूत्रपात उनका उपन्यासहरूबाटै भएको हो ।

हृदयचन्द्रको उपन्यासकारिता

हृदयचन्द्र आफ्ना उपन्यासका नवीन उपन्यास शिल्पका साधक भन्दा बढी समाज चिन्तकका रूपमा देखापरेका छन् र उनको उपन्यासकारिता पनि सिर्जनशीलता भन्दा चिन्तनशील परिणति हो । उनका उपन्यासमा सामाजिक सुधारको जुन प्रस्तावित रूपरेखा प्रस्तुत भएको छ, त्यसबाट यसै कुराको पुष्टि हुन्छ । उपन्यासकार हृदयचन्द्र रूढिग्रस्त र शोषणग्रस्त समाजलाई शोषणमुक्त समाजमा परिवर्तन गर्न चाहन्छन् । उनका दृष्टिमा परम्परावादी संस्कारलाई परित्याग गरी नयाँ जीवन मूल्यलाई अङ्गीकार नगरेसम्म स्वस्थ तथा न्यायपूर्ण समाजको निर्माण सम्भव छैन । उनका दृष्टिमा परम्परावादी संस्कारलाई परित्याग गरी नयाँ जीवन मूल्यलाई अङ्गीकार नगरेसम्म स्वस्थ तथा न्यायपूर्ण समाजको निर्माण सम्भव छैन । उनका दुवै उपन्यासहरू समाज सुधारको उद्देश्य लिएर लेखिएका छन् ती सामन्ती संस्कारका विरोधमा उभिएका छन् । पुरुष समाजको दासता, शोषण र शासनबाट नारीलाई मुक्त गर्ने उद्देश्य लिएर लेखिएको उपन्यास हो – स्वास्नीमान्छे । वेश्या भएर पनि संगठित रूपमा नारी मुक्तिका लागि अत्याचारी पुरुषका विरुद्ध संघर्ष गर्न सुरिएको विद्रोहशील नारीहरूको कथा हो स्वास्नीमान्छे भने किसान–समस्या र किसान जागरणको कथा हो – एक चिहान । यी दुवै उपन्यासका आधारमा हृदयचन्द्रका औपन्यासिक प्रवृत्तिहरूको निरूपण गर्न सकिन्छ । उनका उपन्यासमा पाइने प्रमुख प्रवृत्तिहरूको संक्षिप्त चर्चा यस प्रकार छ:–
हृदयचन्द्रका औपन्यासिक प्रवृत्तिहरू

माक्र्सवादी दर्शनको मोटामोटी ज्ञान र सामाजिक चिन्तनका क्रममा बटुलिएका व्यावहारिक अनुभवहरूबाट उपन्यासकार हृदयचन्द्रसिंह प्रधानमा प्रगतिशील जीवनदृष्टि विकसित भएको हो र उनले आफ्नो उपन्यासलाई प्रगतिशील धारणाको प्रयोगभूमि बनाएका छन् । उनका उपन्यास – कृतिहरू जनतामा प्रगतिशील विचारधारा संप्रेषित गर्ने माध्यम हुन् । जनताका सोचाइ र धारणामा परिवर्तन ल्याएर समाजोपयोगी जनसंस्कृतिको निर्माण नगरेसम्म समाजका विकृतिहरू हट्न सक्दैनन् सामाजिक विकृतिहरूको निराकरण नभै समाज स्वस्थ बन्न सक्दैन भन्ने कुरामा उनी दृढ, विश्वस्त छन् । त्यसैले प्रगतिशील समाजलाई रूढिवादी संस्कारका क्षयोन्मुख दासताहरूबाट मुक्त गर्न चाहन्छन् । उनका उपन्यासमा परम्परागत मूल्य मान्यताको विरोध छ र प्रगतिशील धारणाको खुला समर्थन छ । स्वास्नीमानिसलाई पुरुषका वासना तृप्ति र मनोरञ्जनको साधन ठान्ने मध्ययुगीन सामन्ती धारणाको विरोध स्वास्नीमान्छेले गरेको छ । नारी जातिलाई पुरुषका निरंकुश हैकम र दासताबाट मुक्त गर्नुपर्छ भन्नु नै स्वास्नीमान्छेको वैचारिक दृष्टिविन्दु हो । उपन्यासकार हृदयचन्द्रसिंह प्रधानका प्रगतिशील विचारधाराको प्रयोगभूमि मानिने एक चिहान उपन्यासमा एकातिर उनले संक्रमणकालीन नेपाली समाजका रूढिग्रस्त मान्यताको विरोध गरेका छन् भने अर्कातिर रूढिग्रस्त मुक्त समाज खोजेका छन् । बाबुआमाको काजक्रिया गर्दा पुगीसरी नआउने मानिसले पनि बाहुनलाई दानदिनु पर्ने, बिहे व्रतबन्ध आदिमा भोज भतेर खुवाउनुपर्ने, छोरीको बिहेमा दुलाहलाई दाइजो र ऋण काढेरै भए पनि सामाजिक धार्मिक आडम्बर देखाउनुपर्नेजस्ता रूढिग्रस्त परम्पराको एक चिहानमा चित्रण गरिएको छ । उपन्यासकार हृदयचन्द्रसिंहका वैचारिक अवधारणाहरू पूर्णत: भौतिकवादी–वस्तुवादी मान्यतामा आधारित छन्, तिनीहरू व्यावहारिक प्रयोगसाध्य पनि छन् । उपन्यासकारका दृष्टिमा गुरू पुरोहितहरूले जनताको शोषण गरी आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्नाका लागि धर्म, स्वर्ग, नरक, पापपुण्य आदिको परिकल्पना गरेका हुन् । उपन्यासकारले जातिपातीका आधारमा मानिसलाई ठूलो सानो मानिने परम्परागत धारणाको खण्डन गर्दै समाजमा व्याप्त साम्प्रदायिक भेदभाव हटाउन अन्तर्जातीय विवाह प्रणाली अपनाउनु पर्छ भन्ने धारणा व्यक्त गरेका छन् । हामीले आफ्ना सामाजिक सांस्कृतिक परम्परालाई सकेसम्म सरल, व्यावहारिक र जीवनपयोगी बनाउनुपर्छ भन्ने उनको दृष्टिकोण रहेको छ । शोषणबाट मुक्ति पाउने गरीब किसानले साहुबाट ऋण नलिनु, मितव्ययिता अपनाउनु, घरेलु इलम र कृषि व्यवसायमा आफ्नो परिश्रम खर्च गर्नु आवश्यक छ भन्ने विचार पनि हृदयचन्द्रका उपन्यासमा पाइन्छ । सामन्ती थिचोमिचो, शोषण र अन्यायका विरूद्ध लड्न जनतामा वर्गीय जागरण आउनुपर्छ । गरीबहरू संगठित भएर शोषक सामन्तका विरूद्ध जाइलाग्न सके शोषणवृत्तिलाई हटाउन सकिन्छ भन्ने कामको बाँडफाँड, परिवारमा समानताको व्यवहार, प्रेमको नवीन व्याख्या, अन्तर्जातीय विवाहका सकारात्मक परिणाम, नारी प्रतिको दृष्टिकोण, सार्वजनिक जीवनमा अनुशासन र कानुनी मर्यादाको महत्व, समस्याको वस्तुगत व्यावहारिक समाधान आदि विषयमा व्यक्त भएका विचारहरू प्रगतिशील चिन्तनमा आधारित छन् । यसरी समाजपयोगी विचार र दृष्टिकोणहरू हृदयचन्द्रका उपन्यासहरूमा छरिएका छन् र प्रगतिशील धारणा उनका उपन्यासको महत्वपूर्ण पक्ष रहेको छ ।

उपन्यासकार हृदयचन्द्रसिंहको दोस्रो औपन्यासिक प्रवृत्ति आलोचनात्मक यथार्थवादी दृष्टि हो । सामाजिक वस्तु सत्य र यथार्थका तटस्थ द्रष्टा उनी होइनन् । उपन्यासकारका सैद्धान्तिक धारणाहरू पात्रका विचारधारामा आरोपित भएकोले उपन्यासका प्रगतिशील पात्रहरू लेखककै विचारधारामा डोरिएका उनका र तिनीहरू बोल्दा उपन्यासकारकै दृष्टिकोण अंगीकार गरिएकोले उपन्यासमा कतैकतै सामाजिक, कुरीति, विकृतिहरूमाथि प्रत्यक्ष आलोचनात्मक टिप्पणीहरू पनि व्यक्त भएका छन् । उनका उपन्यासमा सामाजिक दुराचार र दुव्र्यवहारको भत्र्सना पनि छ । आलोचनात्मक यथार्थवादले सामाजिक विकृतिको कटू आलोचनामात्र गर्दैनन्, सामाजिक विकृतिलाई उछिन्नुका साथै तिनको निराकरणका सम्भावित विकल्प पनि प्रस्तुत गर्दछ, आदर्शवादी ढङ्गबाटै भए पनि सामाजिक आदर्शको रूपरेखा प्रस्तुत गर्छ । उपन्यासकार हृदयचन्द्रसिंह प्रधान पनि सामाजिक वस्तुस्थितिको यथार्थ चित्र अंकित गरेर मात्र सन्तुष्ट हुँदैनन् । उपन्यासमा समस्याको उद्घाटनसँगै समाधानका सम्भावित विकल्प समेत प्रस्तुत गरी आदर्श समाजको रूपरेखा पनि उनले तयार पारेका छन् । उपन्यासमा सम्भावित विकल्पतको काल्पनिक रूपरेखा पनि प्रस्तुत भएकोले हृदयचन्द्रको आलोचनात्मक यथार्थवाद आदर्शतर्फ उन्मुख भएको छ ।

हृदयचन्द्रसिंहका स्वास्नीमान्छे र एकचिहान दुवै उपन्यासको अध्ययन गर्दा उनी सामाजिक दायित्वबोधप्रति सचेत समाज सुधारकका रूपमा पनि देखा पर्दछन् र सुधारात्मकता वा सामाजिक सुधार उनका उपन्यासको अर्को विशेषता देखा पर्दछ । हृदयचन्द्रका स्वास्नीमान्छे र एक चिहान दुवैको रचनात्मक उद्देश्य समाजसुधार नै भएकोले तिनमा समस्याको पहिचान र त्यसको उपचार विधि पनि निर्देशित छ । सामाजिक व्यवस्थाभित्रका कमजोरीहरूको आलोचनाका साथ मार्गदर्शन पनि छ । प्रगतिशील विचारद्वारा सामाजिक अन्धपरम्परा हटाउन सकिने, वर्गद्वन्दका माध्यमबाट शोषणवृत्ति निर्मूल पार्न सकिने, र साम्प्रदायिक भावना हटाउन सकिने, बिहे, व्रतबन्ध, मृत्युसंस्कार आदिमा सरल र मितव्ययी पद्धति अपनाउँदा सामाजिक आडम्बर हट्न सक्ने जस्ता सुधारवादी सुझावहरू हृदयचन्द्रका उपन्यासमा प्रस्तुत भएका छन् । एक प्रकारले हृदयचन्द्रसिंह प्रधान सामाजिक संस्कृतिका क्रान्तिका माध्यमबाट आदर्श समाजको स्थापना गर्न चाहन्छन् । त्यसैले उनका उपन्यासका प्रगतिशील पात्रहरू जीवन सङ्घर्षमा आस्था राख्दछन् । उत्पीडित पात्रमा देखाइने दया र सहानुभूतिबाट सामाजिक समस्याको समाधान सम्भव नदेखेर उनी पात्रलाई दयनीय र अशक्त रूपमा प्रस्तुत गर्दैनन् । हृदयचन्द्रले उत्पीडन वर्गमा रहेको संघर्षशील क्षमतालाई पहिचानेका छन् । त्यसैले सुधारवादी चेतनालाई हृदयचन्द्रका उपन्यासको महत्वपूर्ण विशेषता मान्नुपर्ने हुन्छ ।

समाज सुधारकालागि आदर्श कामना मात्र पर्याप्त छैन व्यवहारिक जीवनमा ती आदर्श मान्यतालाई प्रयोगमा ल्याउन सामाजिक जागरणका आवश्यकता पर्दछ । त्यसैले उनका प्रगतिशील पात्रहरू प्रशिक्षित र जागरूक देखिन्छन् । हृदयचन्द्र मानिसमा प्रगतिशील चेतना जगाएर सामाजिक जागरण ल्याउन चाहन्छन् र निर्देशित आदर्शको पालन गराई राष्ट्रिय चरित्रको निर्माण गर्नु उनका उपन्यासको प्रयोजन भएकोले कर्तव्यनिष्ठ, सच्चरित्रवान् र न्यायप्रेमी पात्रहरू सिर्जना भएका छन् । पात्र विधानको सन्दर्भमा हृदयचन्द्रले वर्गगत चरित्रहरूको सृष्टि गरेका छन् । कार्यव्यवहार र चिन्तनशैलीको दृष्टिले उनका केही पात्रहरू प्रतिगामी खालका छन् भने केही पात्रहरू प्रगतिशील विचारका छन् । उपन्यासमा पुरानो सामन्ती र रूढिवादी संस्कारमा जकडिएका प्रतिगामी चरित्र र आधुनिक युगचेतनाले डोरिएका प्रगतिशील चरित्रका बीच द्वन्द्व क्रियाशील छ । प्रगतिशील चरित्रहरूले प्रतिगामी चरित्रलाई संघर्षमा परास्त गरिदिएका छन् । प्रगतिशील चरित्रप्रति उपन्यासकारको पक्षधरता र प्रतिबद्धता स्पष्ट रूपमा देखिएकाले वर्गसापेक्ष मानवतावाद हृदयचन्द्रको मानवतावाद हो । उनी वर्ग समन्वयमा होइन, वर्ग संघर्षमा आस्था राख्दछछन् । त्यसैले वर्ग समन्वयवादी मानवतावाद भन्दा उनको मानवतावादी दृष्टि भिन्न छ । शोषित पीडित वर्गका संगठित शक्तिमा तिनको सामूहिक हित सम्भव छ भन्ने कुरामा उनी दृढ विश्वस्त छन् । त्यसैले प्रतिगामी पात्रका नक्कली उदारता र छदम्भेषी चरित्र उनका उपन्यासमा नाङ्गिएका छन् । उपर्युक्त कुरालाई दृष्टिगत गर्दा के स्पष्ट हुन्छ भने वर्गगत चरित्र सृष्टि र वर्गीय मानवतावाद हृदयचन्द्रका उपन्यासमा पाइने प्रमुख प्रवृत्तिहरू नै हुन् ।

हृदयचन्द्र घटनाप्रेमी उपन्यासकार भएकोले उनका उपन्यासमा विषयवस्तुको प्रधानता छ । व्यक्ति चरित्रका अन्तर्मनोवृत्तिलाई केलाउन भन्दा सामाजिक बहिर्जीवनका स्थूल घटना–दुर्घटनाहरूको विवरण प्रस्तुत गर्नमा उनी विशेष अभिरुचि राख्दछन् । उनका उपन्यासमा चित्रण शैलीको भन्दा ब्याख्या विवेचना शैलीकै प्रधानता छ । ब्याख्यात्मक शैली अंगालिएकाले उनका उपन्यासमा छोटो, चुट्किलो र नाटकीय संवादशैलीको सर्वथा अभाव छ । उपन्यासमा लामा–लामा सम्भाषण र ब्याख्यातम टिप्पणीहरू पढ्दा उपन्यासकारकै व्याख्यान सुनिरहे जस्तो लाग्दछ । उनका उपन्यासमा विशिष्ट शिल्पविधि र संरचनाशैलीको आभास पाइँदैन । उनका पात्रहरू चेप्टा छन्, गोला छैनन् । तिनमा चारित्रिक विकास सहजरूपमा हुन सकेको छैन । धेरै जसो पात्रहरू उपन्यासकारका सैद्धान्तिक धारणामा डोरिएका छन् र तिनका स्वतन्त्र अस्तित्वको रक्षा हुन सकेको देखिँदैन । निश्चय नै हृदयचन्द्रका उपन्यासमा प्रस्तुत भएका प्रगतिशील धारणाहरू समाजोपयोगी छन् र तिनको समाजसापेक्ष मूल्य पनि छ । उपन्यासकारले सामाजिक प्रगतिका लागि दिएका सुझाव र निर्देशनहरू अवश्य राम्रा छन् र तिनको गर्नसके समाजका संकीर्ण रूढिवादी संस्कारहरू सजिलै हट्न सक्छन् । सामाजिक प्रगतिका बाटामा तेर्सिएका काँढाहरू पन्छिन गई समाजले स्वास्थ्य लाभ गर्न सक्छ । यसमा कुनै सन्देह छैन । तर ती सैद्धान्तिक अवाधारणाहरू उपन्यासमा सोझै प्रस्तुत भएकोले उपन्यासको कलात्मक गरिमा र साहित्यिक मूल्य क्षतिग्रस्त भएको छ । हृदयचन्द्रका उपन्यासहरू नीतिवादी आदर्श औपदेशिकताबाट मुक्त हुन सकेका छैनन् ।

भाषिक प्रयोगका सन्दर्भमा हृदयचन्द्रसिंहले पात्रका बौद्धिक चेतनाको स्तरअनुरूपको भाषा प्रयोग नगरी परिनिष्ठित –परिमार्जित मानक नेपाली भाषाकै प्रयोग गरेका छन् । ठाउँ–ठाउँमा उखानटुक्का र आलङ्कारिक भाषा प्रयोग पनि उनले गरेका छन् । पात्रका मानसिक संवेदनालाई व्यक्त गर्ने भाषा पनि छ तैपनि भाषाको प्रयोगमा सहजता नैसर्गिकता भन्दा कृत्रिमता बढी देखापर्छ । यी सबै कुरालाई विचार गर्दा हृदयचन्द्रको औपन्यासिकता वैचारिक प्रयोगको दृष्टिले जति सबल र समाजपयोगी छ, कलात्मक मूल्यका दृष्टिले त्सो त्यति नै कमजोर छ । हृदयचन्द्रको औपन्यासिक शिल्प शिथिल भए पनि नेपाली उपन्यास परम्परामा उनले दिएको वैचारिक योगदान अविस्मरणीय नै ठहर्छ । प्रगतिवादी चिन्तनको औपन्यासिक प्रयोग हृदयचन्द्रका उपन्यास कलाको महत्वपूर्ण देन मान्नु पर्दछ । उपन्यासकार हृदयचन्द्र प्रगतिवादी नेपाली उपन्यास परम्पराका अग्रणी साधक हुन् र प्रगतिवाद उनका उपन्यासले थपेको नवीन आयाम हो । यसै पृष्ठभूमिमा उत्तरवर्ती नेपाली उपन्यासको प्रगतिवादी धारा उत्तरोत्तर विकसित हुँदै आएको छ ।
– जनमत, २०४६ माघ / पूर्णाङ्क १०


Tags: हीरामणि शर्मा पौड्यालहृदयचन्द्रसिंह प्रधान
अघिल्लो पोष्ट

बर्खाको समयमा मनसुनको साँझ

पछिल्लो पोस्ट

रबरको रोटी

हीरामणि शर्मा पौड्याल

हीरामणि शर्मा पौड्याल

सम्बन्धित पोष्टहरू

आधुनिकताको नेपाली कवितामा प्रयोग – एक मीमांसा
समालोचना

आधुनिकताको नेपाली कवितामा प्रयोग – एक मीमांसा

२६ माघ २०८१, शनिबार
नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४
अनुसन्धान

नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४

८ माघ २०८१, मंगलवार
लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन
समालोचना

लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

१५ पुष २०८१, सोमबार
घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा
जनमत समीक्षा

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा

१४ पुष २०८१, आईतवार
पछिल्लो पोष्ट
रबरको रोटी

रबरको रोटी

‘उत्साह’ मा उत्साह

‘उत्साह’ मा उत्साह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन

नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन

५ जेष्ठ २०८१, शनिबार
रंग

रंग

४ जेष्ठ २०७८, मंगलवार
विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ 

विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ 

४ जेष्ठ २०८०, बिहीबार
देशको गीत

देशको गीत

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक