डा. रामप्रसाद दाहालसँग जनमत साहित्यिक पत्रिकाको विशेषाङ्कका लागि लिइएको अन्तर्वार्ता—
१. हाल तपाईं के लेख्दै हुनुहुन्छ ?
— नियात्रा र अािर्थक–निबन्ध (अर्थ साहित्य) निरन्तर लेखिरहेको छु ।
२. प्रत्येक स्रष्टाका साहित्यलाई हेर्ने र परिभाषित गर्ने आ–आफ्नै किसिमको दृष्टिकोण हुन्छ ? तपाईंको दृष्टिकोण के हो ?
— साहित्य लेख्नको लागि लेख्न नभएर त्यो समाज वा जनहिताय हुनुपर्छ । उद्देश्यपक दृष्टिकोण राखेर समाज सुधारका संकेतहरु छर्न सक्नुपर्दछ । सुन्दर भविष्यको परिकल्पनामा साहित्य लेखिनुपर्दछ । राष्ट्रप्रेम सर्वाेपरी रहनुपर्दछ । माटो मगमगाउनु पर्छ, चराचुरुङ्गी र खोलाहरुको रागलाई आत्मसात गर्दै सौन्दर्य र समवेदनालाई समातेर तेजिलो आँखाभित्र अस्तित्वको संरचना गर्न सके मात्र साहित्यमा दृष्टिकोण उजागार हुन्छ ।
३. तपाईं कस्तो लेखनलाई उत्कृष्ट ठान्नुहुन्छ ।
— यथार्थपरक, युगबोध र जीवनबोधलाई समातेर सुन्दर समाजको निर्माण र परिकल्पनामा केन्द्रित भएको मनपर्छ । अर्थात् मानवीय मूल्य र सामाजिक सचेतना, भएका संवेदनशील तथा आस्थावान स्रष्टा र उनीहरुको लेखनीलाई ज्यादा मनपर्छ । उन्नति र प्रगति लुकेको साहित्य उत्कृष्ट लाग्छ ।
४. साहित्यकारको दायित्व कस्तो हुनुपर्दछ ? तपाईंको विचार प्रष्ट पार्नुहोस् ।
— साहित्यको दायित्व जनहितमा जारी सन्देश जस्तै हुनुपर्दछ । तर त्यसमा साहित्यिक भाव र आश्वादन भरमार प्रयोग हुनुपर्दछ । जिन्दगीको किनारलाई छोएर मनलाई सुसेल्ने खालको हुनुपर्दछ । साहित्यिक धून लहर बोकेर आउनुपर्दछ ।
५. हालसालको साहित्यलाई कसरी हेरिरहनु भएको छ ?
— पहिलेको तुलनामा सञ्चार र छापागृहको बग्रेल्ती विकास भइरहेकाले प्रचार–प्रसार र प्रकाशनले ज्यादा उर्वर हुने मौका पायो । फलस्वरुप साहित्य पनि सिद्धहस्त देखि शिकारु लेखकसम्मले आफ्ना सृजनालाई सार्वजनिककीकरण गर्ने अवसर पाइरहेका छन् । त्यसले गर्दा स्तरयुक्त उत्पादन र सृजनाहरु भन्दा कोरोनावादी साहित्यदेखि जे लेखे पनि साहित्य जस्तोे एकातर्फ देखिरहकेो छ भने अर्काेतर्फ ‘कला कलाको लागि होइन जीवनको लाग हो’ भन्ने अर्थमा पनि साहित्य सृजना भइरहेको छ । त्यसैले टाइसुट लगाएको नेपाली ठिटोले पाल्पाली ढाकाटोपी ढल्काएजस्तो साहित्यमा देखिरहेको छ ।
६. तपाईं कुन–कुन नेपाली साहित्यकार चिन्तकबाट प्रभावित हुनुभएको छ ?
— मनपर्ने साहित्यकार त धेरै नै हुन्छन् । स्वदेशी–विदेशी पुस्तक पढ्दा पर्ने प्रभाव भइ नै हाल्छ तर पनि नेपालभित्र विशेष गरी विश्वेश्वप्रसाद कोइराला र पारिजात, अनि लैनसिङ वाङ्देलको नाम र प्रभाव विशेष रहेको छ ।
७. तपाईंको लेखकीय जीवनको शुरुआत कसरी भयो ? तपाईंको साहित्यिक यात्रा कुन विधाबाट शुरु भयो ?
— २०२९÷०३० सालतिर सिन्धुलीबाट प्रकाशित हुने तर जनकपुरबाट छापिने ‘कर्मयुग’ पत्रिकामा मेरो ‘दशैँ’ कविता युगको शिकार एकाङ्गी, हुरीका नारी कथा क्रमशः प्रकाशित भएका थिए । त्यो नै लेखनीको पहिलो प्रकाशन मान्न सकिन्छ । लेख्ने काम त ‘स्कूल’ शिक्षाभित्रै भएको थियो । त्यो पत्रिकाका सम्पादक साथी कृष्णहरि बराल ‘सिन्धुलीय’ र साथी राजेन्द्र थापाको सरसल्लाह र लहै लहैमा लेखिएको र छापिएको हो ।
८. तपाईं कसरी साहित्य सिर्जनामा लाग्ने प्रेरणा प्राप्त भयो ? बताइदिनुहुन्छ कि ?
— स्कुल पढ्दा देखि नै कविता, कथा, लेख्नुपर्दछ भनेर गुरुहरुले भन्ने शुक्रबार त्यस्ता विषयमा प्रतियोगिता गर्ने जस्ता कुराहरुबाट आफूभित्र रहेका कुराहरु पोखिने अवसर प्राप्त भयो । प्रकृति– डाँडा पाखा छहरा पहरा गरा फाँट उकाली ओराली देउराली गर्दागर्दै र आर आर क्याम्पस जनकपुरमा पठन थालेपछि कतिपय प्रसङ्ग र कुरकुरे बैंशमा प्रेम र प्रकृति जोडिन थाल्यो अनि साहित्यिक रुचि राख्ने साथी भाइका प्रेरणा र प्रसङ्गबाट साहित्यिक लेखनी यात्रा अगाडि बढि नै रह्यो ।
९. तपाईंले विविध विधामा कलम चलाउनुभएको छ ? कुन विधाको लेखनमा सन्तुष्ट हुनुहुन्छ ?
— विशेष गरी मैले प्राध्यापन गर्दा प्राध्यापकीय नोटहरु जम्मा गरी कृति–स्मृति (२०४४) समीक्षा संग्रह प्रकाशित गराएँ । समीक्षाबाट आरम्भ भएको कृति प्रकाशनको लामो यात्रा रहिरह्यो । तर मैले समीक्षा, समालोचना, कथा, भाषा साहित्यको इतिहास, साहित्यकारहरुको परिचय कोष, नेपाल परिचय, आदि इत्यादि विषयमा ज्यादा लेखेँ । पछिल्लो समयमा आएर अर्थ–साहित्य जोडेर आर्थिक बैंकिङ लेखहरु लेखेँ लेखिरहेको छु । मेरो शुरु देखिनै यात्रा ग¥यो कि लेखिहाल्ने बानीले गर्दा २०४० सालदेखि कुनै न कुनै यात्रा नियात्रा लेखिरहेँ । अहिले ‘यात्रा–साहित्य’ को लेखनमा नै म सन्तुष्ट छु ।
१०. साहित्यकारको रुपमा सही मूल्याङ्कन भएको छ कि छैन ?
— लेखनयात्राको ४० वर्ष बित्यो । जे छ सार्वजनिक भएकै छ । आफू सन्तुष्ट छु । अरु मूल्याङ्कन जनस्तरबाट भएकै छ । तपाईंजस्तो व्यक्तित्वबाट विशेषाङ्क प्रकाशन हुनु पनि मूल्याङ्कन नै हो ? जस्तो लाग्दछ । अरु भविष्यले बताउला…..।
११. साहित्य र राजनीतिमा तपाईं कस्तो समानता वा असमानताको अनुभव देख्नुहुन्छ ?
— हिजोको दिनमा निश्चय नै फरक थियो । तर अहिले त उस्तै–उस्तै देखिन थाले । दल, पार्टी, गुट उपगुटबाट राजनीति चलिरहेको छ । पार्टीको मान्छे भन्दा पनि कस्को कुन गुटको मान्छे भन्ने कुरामा नियुक्ति बढुवा सरुवा हुन थालेको छ । साहित्यमा पनि त्यही राजनीति गुट कै व्यक्ति खाँटी साहित्यकार र प्रा.डा. भएपछि सबै पूर्ण भन्ने अर्थमा समाजले गति लिएको देख्दा हेर्ने चस्मा पनि एकै बन्यो । साँचो साहित्यकार विद्वान् ओझेलमा प¥यो, टपरटुइयाँले टपक्यायो भन्ने अर्थमा हेर्दा उस्तै–उस्तैको अनुभूति हुनथालेको छ ।
१२. कृपया तपाईंको साहित्यिक सृजना, शिक्षण–यात्रा, बैंकिङ क्षेत्रको अनुभवलाई केही बताउनु हुन्छ कि ?
– सम्झनाका क्षितिजमा बरालिएर गरिने साहित्यिक सृजना स्वतन्त्र, मीठास र आनन्द दिलाउने माध्यम हो । यसमा रसास्वादन गर्दा पाइने प्राप्ति अलौकिक हुन्छ । सुन्दर शान्त र विशालतामा रम्न रमाउन सकिन्छ । सफल गुरुको रुपमा रहन कठिन छ । यो व्रतलाई पूर्ण गर्न सके भावी पुस्ताको निर्माणमा प्रत्यक्ष संलग्न हुन पाइने शिक्षण यात्रा पनि रमाइलो छ । तर आफू कसरी रमाउने के दिएर रमाउने भन्नेतर्फ साहित्य र शिक्षाको यात्राले तय गर्छ । बैंकिङ क्षेत्र भनेको जोड घटाउमा केन्द्रित गणितीय पाठशाला हो । यो संवेदनशील क्षेत्रले मानिसलार्ई पैसामा खेल्न रम्न रमाउन अनि नाफा घाटामा आफूलाई बाँधिरहेको हुन्छ जुन साहित्य र शिक्षामा हुँदैन ।
१३. एक जना सफल लेखक हुन के के गुणहरु आवश्यक हुन्छ ? तपाईंको विचारमा ।
— पहिलो कुरा त सृजना शक्ति नै हो । त्यो दरो हुनुपर्दछ । खरो हुनुपर्दछ त्यसपछि विषयप्रतिको इमानदार, निष्ठा, कर्तव्यलाई जोडेर समाजलाई डो¥याउन सक्ने गुण लेखकमा हुनैपर्दछ । सुन्दर समाज निर्माण गर्न भवियको द्रष्टा साहित्यकार बन्न सक्नुपर्दछ । सुख, शान्त, संयमित, सहज परिवेशमा वसन्त फुलाउन सक्ने खुबी साहित्यकारमा हुनुपर्दछ ।
१४. लेखक ‘स्वतन्त्र हुनुपर्दछ’ भन्ने भनाइमा तपाईंको विचार
— यो सत्य कुरा हो तर ‘तीतो सत्य’ भन्ने स्वतन्त्र तर बन्धनमै बाँधिएर ऊ आफ्नो सृजना गरिरहेको देख्दा आजभोली पद पैसा, शक्ति, प्रतिष्ठाका लागि मर्नेहरु पनि हामी साहित्यकारहरु छौँ । यस पृष्ठभूमि हेर्दा चाकडीबाज र ‘अहंवादी’ साहित्य पनि जन्मिरहेको छ, त्यसमा यो सत्य भए पनि स्वतन्त्रता भन्दा पर छ तर साँचो अर्थ भनेको ‘स्वतन्त्र’ हुुनुपर्दछ ।
१५. नेपाल प्रज्ञा–प्रतिष्ठान लेखक कलाकारहरुको स्वतन्त्र प्रतिष्ठान हुनुपर्दथ्यो तर त्यसो नभइ नेपाल सरकारको कार्यालय जस्तो भयो यस भनाइप्रति तपाईंको टिप्पणी ।
— प्रश्न नै पूर्ण छ । यसमै म सहमत छु । अरु के टिप्पणी गरौँ जागिर खाने केन्द्रलाई….।
१६. दिनचर्या कस्तो छ जीवनका समकालीन क्षणबारे जानकारी दिनुहुन्छ कि ?
— विगत ४० वर्षदेखि म प्राध्यापन, व्यवस्थान र लेखनलाई सँगै जोडेर हिँडेको मान्छे हुँ ? त्यो निरन्तरता अहिले पनि छ । बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म कार्य सम्पादन र कार्यव्यवस्थामै आजभोलि पनि क्रियाशील रहिरहेको छु । लेख्ने बानी त कसरी छुट्छ र ? अहिले पनि व्यस्त र क्रियाशील जीवन बिताइरहेको छ ।
१७. तपाईं गीतकार पनि हो ? यसका बारेमा केही भनिदिनुहुन्छ कि ?
— हो मेरो हाल ‘औषधी’ र ‘दुई किनारा’ गीति एल्वम प्रकाशित भएको छ । प्रेम, प्रकृति प्रेम, देशप्रेम शिक्षा प्रेममा केन्द्रित गीतहरु चर्चित छन् । अहिलेसम्म २०० जति गीतहरु लेखेहुँला । तर २२÷२४ वटा गाइएका छन् । त्यो पनि चर्चित कलाकारहरुले रामकृष्ण ढकाल, अन्जु पन्त, स्वरुपराज आचार्य, शिव परियार दुर्गा खरेल, जीना रसाइली आदिले । धेरै जसो संगीत अर्जुन पोखे्रलले दिएका छन् । एक दर्जन भन्दा बढी भिडियो पनि बनेका छन् । जो सार्वजनिक भइरहेका छन् ।
१८. तपाईंको कुनै खास अम्मल छ कि ?
— छैन ।
१९. तपाईंको चाख कस्तो किसिमको छ ? खासगरी खानपिन र साथी सँगाति सम्बन्धमा ?
— मेरो रुचि भनेको बढी पर्यटकीय क्षेत्र, मठ, मन्दिर देवालय शिवालयको कला संस्कृति, खानपिन रहनसहन हेर्ने र पर्यटन साहित्य तथा यात्रा साहित्य लेख्नमा विशेष रुचि छ । साथी भाइ नै मेरो सम्पत्ति हो । यदि केही कमाएको छु भने त्यही साथी भाइ नै हो जस्तो लाग्दछ । सामान्य भात, दाल, तरकारी अचार नै खान रुचाउँछु । मासुका परिकार पनि मनपर्छ ।
२०. भविष्यमा तपाईंको के योजना छ ?
— जति बाँचिन्छ क्रियाशील ऊर्जावान् भएर नै बाँच्ने छ । राष्ट्रलाई आफ्नो क्षेत्रबाट के कति दिन सकिन्छ त्यसतर्फ सकारात्मक सोचका साथ लागिरहने छ । सेवा नै सर्वाेपरी ठानेर सेवाभाव र सहयोगी विचारलाई प्रोत्साहन दिँदै अगाडि बढ्ने इच्छा छ ? मन जस्तो छ त्यसमै तन केन्द्रित हुन्छ त्यसैले मनलाई निराशमा होइन आसमा बदलेर जान रहर गर्ने मान्छे हुँ म । त्यसैले म जुनसुकै बादलमा पनि चाँदीको घेरा देख्छु । लेखनीयात्रा निरन्तर चलिरहने छ ।
२१. अन्त्यमा जनमत र पाठकहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
— जनमत साहित्यिक तीर्थस्थल हो । जो पवित्र छ फोहोरी खेलमा डुबेको छैन । यसका पात्रा सफा र उज्याला छन् । जसले निरन्तर जनमतलाई नियमित प्रकाशन गरेर (लोभ, मोह, पद, पैसा, प्रतिष्ठा, चाकरी, चाप्लुसीबाट) आफूलाई टाढा राखेर इमानदारीपूर्वक काम गरिरहेका छन् । यसको नेतृत्व गर्ने अग्रज मोहन दुवाल बधाइको पात्र हुनुहुन्छ । उहाँको टिमलाई साधुवाद छ । मलाई पनि लोकप्रिय जनमतमा स्थान दिनुभएकोमा आभारी छु । लुकेका प्रतिभालाई सार्वजनिकीकरण गर्ने र प्रसिद्ध लेखक बनाइदिने ‘जनमत’ भावी पुस्ताका लागि सदैव यो नासो हस्तान्तरण हुँदै जावस् र यसका पाठक जनहृदयमा उसको जनसेव, जनभावनाका कुवेर हुनुहुन्छ उहाँहरु सबैमा मेरो नमन छ ।