विक्रम संवत्को पहिलो महिनाको पहिलो दिन अर्थात वैशाख १ गतेको नयाँ वर्ष मनाउने नेवार जातिको आफ्नै तरिका छ । नेवारहरू यो दिनलाई खाइसंल्हू (तीते संक्रान्ति) भन्ने गर्दछन्। नेवार जातिले परम्परागत रुपले मनाउँदै आएका अधिकांश चाडपर्वहरू नेपाल संवत्को तिथिमा आधारित छन् भने केही पर्वहरू विक्रम संवत् अनुसार पनि मनाउने गरिएको पाइन्छ । नेवार जातिका सबै चाडपर्वहरू कृषिमा आधारित छन्। त्यसैले ती चाडपर्वहरूमा कृषिकार्यसँग नै सम्बन्धित रही मौसम अनुसारका विभिन्न परिकारहरू बनाई खाने गरिन्छ जसले शरीरलाई सधैँ स्वस्थ राखिराख्न सहयोग पुग्दछ । मौसमको दृष्टिकोणले वैशाख महिना मूलत: गर्मी याममा पर्दछ । गर्मीको कारणले मानिसको स्वास्थ्यमा आउनसक्ने गडबडी (विरामी) लाई रोक्ने दृष्टिकोणले मनाइने चाडपर्वहरू मध्य खाइसंल्हू (तीते संक्रान्ति) पनि एक हो। तर यो नेवार जातिले मनाउने ठूलो चाड भने होइन । खाइसंल्हूलाई नेवारहरू साधारण चाड (चख:) को रूपमा मनाउने गर्दछन्।
गर्मी याममा नानाथरीका हानिकारक किटाणुहरूले पेट लगायत स्वास्थ्यलाई खराब नगरोस् भन्ने हेतुले तीतो क्वाटी खाएर पेटभित्रको हानिकारक किटाणु नष्ट गर्न यो पर्व मनाउने गरिन्छ । उक्त दिन बिहानै नुहाई धुवाई गरी आफू चोखो भइकन देवताहरूलाई तीतो क्वाति अर्पण गरिन्छ । त्यसपछि परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसी तीतो क्वाटी खाने गरिन्छ । यो याम भनेको वारीमा मूला फल्ने समय हो। मूलाको फूल फुल्ने यो बसन्त ऋतुमा रुखहरूमा पनि नयाँ पालुवा लागेको हुन्छ । यही बेला बकाइनो (खाइब:सि) को रुखमा लाग्ने नयाँ पालुवा नै यो पर्वमा खाइने क्वाटीको प्रमुख तत्वहो। बकाइनोको नयाँ पालुवामा त्यही मौसममा फल्ने सानो केराउ, ठूलोकेराउ र कोइरालो समेत मिसाई उमालेर क्वाटी बनाइन्छ । क्वाटी पकाउँदा त्यसमा आफूलाई मनपर्ने अरू खाद्यान्नहरू पनि मिसाउन सकिन्छ तर त्यसमा निम्न कुराहरू भने राख्नै पर्दछ :
१. बकाइनोको पाउला (पालुवा)
२. मूला फूलिसक्ने भएकोले मुलाको सुकुटी (लैंसू)
३. लैंसि मूलाको कोसा
४. केराउ – ठूलो/सानो कोसा
५. कोइरालोको फूल
६. चामलको सत्तु (चामल भुटेर बनाएको पीठो)
७. यस याममा उपलब्ध हुने सागपात, प्याज, छ्यापी आदि
८. हरियो फर्सी
९. हरियो बकुला
नेवारहरूले क्वाटी खाई मनाउने विभिन्न पर्वहरू मध्ये यो पर्वमा सागपातको मात्र क्वाटी बनाई खाने गरिन्छ । उक्त दिन काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित बाघद्वारको सपन तिर्थमा स्नान गरी तीतो क्वाटी लगायत अरु वस्तु दान गर्ने र घर आएर तीतो क्वाटी खाने गरिन्छ । यो तीतो क्वाटीले विशेष गरी पेटको किटाणु नष्ट गर्ने र पेट सफा राख्ने काम गर्दछ ।
नेपालीमा अनुवादक
देवेन्द्र कुमार मल्ल