वि.सं. २०१५ साल श्रावण १३ गते आठराई, हाङपाङ–३, ताप्लेजुङमा जन्मिएकी लक्ष्मी उप्रेती कथा, कविता, जीवनी र बालसाहित्य लेखनमा सक्रिय रहँदै आएकी कर्मशील साहित्यिक प्रतिभा हुन् । २०५६ सालदेखि नियमित रुपमा वनिता (साहित्यिक त्रैमासिक पत्रिका) सम्पादन गर्दै आइरहेकी यिनी साहित्यिक पत्रकारको रुपमा पनि चर्चित छिन् । २०४१ सालमा ‘विस्कुनले थिचिएका खुशीहरु’ कविता विराटनगरबाट प्रकाशितचाँदनी पत्रिकामा प्रकाशित गरेर नेपाली साहित्यमा देखा परेकी यिनी निरन्तर रुपमा नेपाली साहित्यमा सक्रिय रहँदै आएकी छिन् ।
यिनका प्रकाशित कवितासङ्ग्रहहरुमा यौटा बाटो खोजिरहेछ जीवन (२०५१), मृदु स्मृतिहरु (२०५६), स्निग्ध अनुभूति (२०५९), समय स्पर्श (२०६१) र अतिरिक्त आयाम (२०६७) रहेका छन् । त्यसैगरी यिनका प्रकाशित बालसाहित्यका कृतिहरुमा मनेको म्याँ–म्याँ (२०५७), कृष्णको पछुतो (२०५७), कर्मको फल (२०५८), बुद्धिमानी बाँदर (२०५९), साहसी आकांक्षा र पवनपरी (२०६०), कमिलाको ताँती (२०६१), सुनको अण्डा दिने चरी (२०६१), साथी साथी(२०६४), सानुको मामाघरको यात्रा (२०६६), कर्मच्य फल (२०६८) र हाम्रा गाउँका मानिस (२०७०) रहेका छन् भने अन्य कृतिहरुमा धनमाया प्रसाईंको जीवनगाथा (२०६५), नेपालका नारी कथाकार: प्रवृत्ति र प्रतिनिधि कथा (२०६८), साहित्यकार देवकुमारी थापाको जीवनी (२०७०), फ्ल्यासब्याकमा जिन्दगी(२०६९) र जिन्दगीको बाटो (२०७१) आदि रहेका छन् । यिनी बाल मनोविज्ञानलाई अत्यन्त सूक्ष्म ढङ्गले नियाल्नसफल स्रष्टा हुन् । अरुलाई पनि सम्मान गरिरहने यिनी आफू पनि थुप्रै ठाउँबाट सम्मानित भएका छन् । हाल यिनी मण्डिखाटार काठमाडौंमा बसोबास गर्छिन् ।
तपाईंको साहित्य लेखनको थालनी कसरी भयो ? कृपया बताइदिनुहुन्छ कि ?
रहरले ।
साहित्यको सिर्जना गर्ने भावना र प्रेरणा कसरी र को–बाट प्राप्त गर्नुभयो ?
आफ्नै जीवन भोगाइका परिवेशबाट प्राप्त गरेँ वा मेरी दिदी स्व. शान्ताको लेखनीबाट प्रभावित भएँ कि ? यसैबाट भन्नै सक्क्तिनँ म ।
साहित्य सेवामा निरन्तर रूपमा लागिरहनुभएकी तपाईं यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? कृपया बताइदिनुहोस् ।
सन्तुष्ट नै छु । तर अझ थुप्रै काम गर्ने सोच भएकोले पूर्ण सन्तुष्ट हुन पाएको छुइनँ ।
नेपाली साहित्यमा महिला लेखिकाहरूको भूमिका र अग्रसारिता सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
महिलाहरु विवाहअगाडि एउटा समाज र संस्कारमा बाँचेका हुन्छन् भने विवाहपछि अर्कै समाज र संस्कारमा आफूलाई बदल्नुपर्ने हुन्छ । त्यसरी दुई भिन्न समाजबीचको अलग–अलग परिस्थितिमा आफूलाई हिँडाउने क्रममा लेखनबाट प्राय: पलायन हुन्छन् विभिन्न कारणले महिलाहरु । कसैकसैले अवसर पाउँछन् निरन्तरता दिँदादिँदै पनि महिलाहरु दोहोरो दायित्वले गर्दा पछाडि नै पर्छन् पुरुषहरुको तुलनामा । कोही–कोहीचाहिँ केही समय निस्क्रिय भएता पनि पछि गएर पुन: सक्रिय हुन वातावरण बनाउन सफल हुन्छन् ।
अझै पनि सङ्ख्यात्मक रुपमा महिला लेखकहरु पुरुष लेखकका तुलनामा कमै छन् । तर गुणात्मक रुपमा पुरुष लेखकभन्दा कम छैनन् । पुरुष लेखककै बराबरीमा आफ्नो विशेष स्थान बनाउन सक्ने नारी–लेखकहरु पनि कम छैनन् ।
“साहित्यकारहरू आ–आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिकरूपमा जनसमक्ष पुर्याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यकासाथ प्रस्तुत गरिन्छ ।” यस भनार्इंप्रति तपाईंको के धारणा छ ?
साहित्यकारहरुले लेख्ने बेलामा स्वतन्त्र भएर लेख्नुपर्छ जस्तो लाग्छ ! पूर्णतया सिद्धान्त र दृष्टिकोणमा बाँधिन खोज्दा कहिलेकाहीँ साहित्यको सौन्दर्य चेतनाको रस हराउन सक्छ, साहित्य नहुन सक्छ । साहित्यिक सिर्जनाको धारालाई कुरुप बनाउन हुँदैन कि जस्तो मलाई लाग्छ । यसो भन्दैमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण होइन भन्न खोजेकी पनि होइन मैले । कलात्मक सौन्दर्य र विचारको राम्रो तालमेल हुनु जरुरी छ । यो मेरो व्यक्तिगत धारणा हो ।
हालका विभिन्न साहित्यिक प्रतिष्ठानको साहित्यिक गतिविधि र साहित्यिक धारा सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
प्रजातन्त्रमा प्रजातान्त्रिक तरिकाले साहित्यिक प्रतिष्ठानको स्थापना गरी साहित्यिक गतिविधिहरु गर्नु र साहित्यिक धाराहरुको प्रचार गर्न पाउनु राम्रो कुरा हो । तर हामीले समाज र जनताको लागि केही दिन सक्नुपर्छ, झारा टार्ने काम गर्नु हुँदैन । साहित्यमा पनि विकृति, विसङ्गति देखिनु, गुटबन्दी हुनु निश्चय पनि नराम्रो कुरा हो । यसमा हामीले सचेत हुन सक्नुपर्छ ।
तपाईंलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरू को–को हुनुहुन्छ ? कृपया बताइदिनुहुन्छ कि ?
विभिन्न समयका विभिन्न स्रष्टाका सिर्जनाहरु मन पर्छन् । निश्चित रुपमा किटेर भन्नका लागि मैले सबै लेखकका सिर्जनाहरु अध्ययन गर्न सकेकी छुइनँ । यो मेरो कमजोरी हो । केही नामहरु उल्लेख गर्नैपर्दा लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, हरिभक्त कटुवाल, शङ्कर लामिछाने, भूपी शेरचन, देवकुमारी थापा, लियो टाल्सटाय, रविन्द्रनाथ टैगोर, अमृता प्रीतम, प्रेमचन्दको नाम लिन चाहन्छु ।
तपाईंलाई सधैं सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्को नमानिकन उल्लेख गरिदिनुहोस् ?
मेरो पहिलो प्रकाशित रचना ‘बिस्कुनले थिचिएका खुसीहरु’ कविता हो र आफूले रचना गरेका सबै रचनाहरु मलाई मन पर्छन् र सबैमा केही कमी छ जस्तो पनि लाग्छ ।
तपाईंको पहिलो प्रकाशित रचना कुन हो र तपाईंका प्रकाशित लेख–रचनाहरूमध्ये सबभन्दा मनपर्ने कुन रचना हो ?
सम्झनामा आइरहने साहित्यिक घटनाहरु निकै छन् । कुनै निश्चित एउटै मात्र महत्वपूर्ण घटना भनेर सम्झनै सकिनँ अहिले !
(जनमत, पूर्णाङ्क १०२, जेठ २०६२)