० तपाईंको साहित्य लेखनको थालनी कसरी भयो ?
म सानै उमेरदेखि कविता, कथा, उपन्यास पढ्न रूचाउँथें । ती पुस्तक पढ्दा मलाई, आफूले पनि लेख्ने रहर लागेर आउँथ्यो । २०३७ सालतिर बैंकमा जागिरे भइसकेपछि, मैले केही समाचारमूलक पत्रिकाहरू हेर्ने मौका पाएँ जहाँ केही साहित्यिक रचनाहरू पनि छापिएका हुन्थे । ती पत्रिकाहरूमा आफूले पनि लेख्ने अभ्यास गर्न थालें । त्यसैताका काठमाडौंबाट प्रकाशित हुनेनया“ सन्देश साप्ताहिकमा मेरा केही मुक्तक छापिएको थियो । उक्त मुक्तक धनगढीबाट छापिने खप्तडसन्देश साप्ताहिकमा पनि थियो ।
० साहित्य सेवा गर्ने भावना र प्रेरणा कसरी र कोबाट प्राप्त गर्नुभयो ?
साहित्यमा म कुनै योजना बनाएर अर्थात् यो गरौंला, त्यो गरौंला भन्ने सोच लिएर लागेकी होइन । सुरूमा रहरै रहरमा लागिएको हो तर जीवनका भोगाइहरूले त्यसका लागि मार्ग प्रशस्त गरे । लेख्दै गर्दा साहित्यका मर्मज्ञहरूबाट प्रोत्साहन प्राप्त हुँदै गयो । साहित्य लेखनको माध्यमबाट व्यक्तिगत क्षोभ, कुण्ठा र द्वन्दले निकास त पाए नै, साथै आफ्नो लेखाइबाट, समाजलाई सचेत बनाउने, मार्ग देखाउने र यथार्थको चित्रण गर्ने गरेकोले, मेरो साहित्य जीवन्त बन्न पुग्यो । यिनै कारणले होला थोरै लेखेर मैले धेरै मान सम्मान र पुरस्कार प्राप्त गर्न पाएको । भन्नुपर्दा तिनै साहित्यिक संस्था तथा वरिष्ठ साहित्यिक व्यक्तित्वहरूको प्रोत्साहन र सद्भावले मलाई निरन्तर प्रेरणा प्रदान गर्दै रह्यो । आज आएर आत्मवोधले केही जिम्मेवारी पनि थपी दियो लेख्नलाई ।
० साहित्यिक सेवामा निरन्तर लागिरहनुभएकी तपाईं यसबाट सन्तुष्ट हुनुहुन्छ ?
आफ्नो कलमबाट निरन्तर नयाँ–नयाँ सिर्जना हुनु आफैंमा एउटा सन्तुष्टिको विषय हो मेरो लागि । मैले जति पनि लेखें, छाप्ने अवसर पाएँ वास्तवमा मेरो सोचाइमा स्रष्टाको सृजना पाठकसमक्ष पुर्याउनकै लागि हुनु पर्दछ – लेखेर धमिराको खुराक बनाउनका लागि होइन । त्यस्तै म विभिन्न साहित्यिक संस्थाहरूसित आवद्ध छु । साहित्यिक कार्यक्रममा, भ्याएसम्म सहभागी भइरहेकी छु । वास्तवमा साहित्यमा लागेर मैले मानव जुनीमा एउटा मान्छेले जे पाउनुपर्ने हो पाएकी छु । जुन गर्नुपर्ने हो, त्यो गरिरहेकी हुँदा, पूर्णतया सन्तुष्ट छु ।
० नेपाली साहित्यमा लेखिकाहरूको भूमिका र अग्रसारिताको सम्बन्धमा कस्तो धारणा राख्नुहुन्छ ?
सामान्यत: नेपाली महिलाहरूले आज पनि घरभित्र र बाहिर गरी ७५ प्रतिशत काम गर्नुपर्छ । त्यसमा महिला साहित्यकारहरू पनि अछुत छैनन् । लेख्नलाई अध्ययन पनि गर्नुपर्ने हुन्छ । अध्ययन र लेखनलाई आवश्यक समय पनि दिन नसक्ने अवस्थामा लेखन स्तर माथि उठ्न सक्तैन र पनि मेरो विचारमा साहित्य लेखनको क्षेत्रमा जति पनि महिला साहित्यकार छन् उनीहरूले यौनवादी र नारीवादी साहित्य मात्र होइन अपितु समाज, राष्ट्र र सम्पूर्ण मानव जगत्को उत्थानको लागि सकारात्मक भूमिका निर्वाह गर्न सक्ने खालको साहित्य पनि लेख्नुपर्छ । प्रयोगवादी साहित्यमा पनि महिला साहित्यकारहरू पछाडि नै छन् । त्यसो भएको हुनाले, वर्ग, जाति र यौनभन्दा माथि उठेर बौद्धिक, व्यावहारिक, समाजका विभिन्न क्षेत्रसित सरोकार राख्ने विषयवस्तुमा साहित्य लेख्नुपर्छ । साहित्यिक संस्थाहरूको संचालन गर्न सक्नुपर्छ । समाजको अन्य क्षेत्रमाझैं साहित्यमा पनि निर्णायक भूमिका बहन गर्न सक्नुपर्छ ।
० साहित्यकारहरूले आ–आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई नै बनाउछन् । वास्तवमा साहित्यमा मुख्य कुरा सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिक रूपमा जनसमक्ष पुर्याउने र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यकासाथ प्रस्तुत गरिन्छ । यस भनाइप्रति तपाईंको धारणा के छ ?
वास्तवमा साहित्य भावना, विचार र कल्पनाको त्रिवेणी हो भन्दा फरक नपर्ला । एउटा उत्कृष्ट साहित्यको लागि भावको उच्चता, शैलीको नवीनता र शब्द विन्यासको सौन्दर्य आवश्यक पर्दछ यसमा कुनै पनि विधाको साहित्यकारको फरक मत त हुनै सक्तैन । विचारको वक्तव्य र विशुद्ध साहित्यलाई फरक छुट्याउने तत्व नै साहित्यमा कलात्मक प्रस्तुति हो ।
० हालका विभिन्न साहित्यिक प्रतिष्ठानको साहित्यिक गतिविधि र साहित्यिक धारा सम्बन्धमा कस्तो धारणा राख्नु हुन्छ ?
एउटा–दुइटा संस्थाको गतिविधि हेरेर, सबैको गतिविधि समान रूपले मूल्याङ्कन गरिहाल्नु पनि हुँदैन । यस अर्थमा कतिपयको गतिविधिबाट म सन्तुष्ट छु भने कतिपयको गतिविधि गुटबन्दीमा सीमित रहेको पाएकी छु । मेरो विचारमा साहित्यिक विकासको लागि स्थापित साहित्यिक संस्थाले स्रष्टा, स्रष्टाको कृति तथा साहित्यिक वर्तमान धाराको बेला–बेलामा मूल्याङ्कन गर्नुपर्छ । तर मलाई के लाग्दछ भने साहित्य पनि बहुमतको आधारमा भनौं या देखासिकीमा बगेको देखिन्छ ।
० तपाईंलाई मनपर्ने स्वदेशी र विदेशी लेखक को–को हुनुहुन्छ ?
हेर्नोस्, वर्तमान समयमा केही राम्रा कवि, कथाकार तथा निबन्धकारहरू देखिएका छन् । तर उनीहरूको नाम अहिल्यै तोकिहाल्न उचित ठान्दिन । किनभने उनीहरूको आगामी सिर्जना हेर्न बाँकी नै छ । पुराना पुस्तामा स्वदेशीमा गोपालप्रसाद रिमाल, भूपि शेरचन, देवकोटा, पारिजात, डायमण्ड शम्शेर मन पर्दछन् भने विदेशीमा प्रेमचन्द, मेक्सिम गोर्की, लियो टाल्सटाय, पुश्किन आदिका कृति मन परेको छ ।
० तपाईंको पहिलो प्रकाशित रचना कुन हो र तपाईंका लेख रचनामध्ये सबैभन्दा मनपर्ने कुन रचना हो ?
प्रथम रचना आकङ्क्षा सबै मरिसके कविता हो । जुन धनगढीबाट प्रकाशित हुने खप्तड सन्देश साप्ताहिकमा २०३८ सालमा छापिएको थियो । हाल मेरा ६ वटा उपन्यास र ३ वटा गजलसङ्ग्रह प्रकाशित छन् । त्यसैले कृतिको बारेमा भन्नुपर्दा उपन्यासतर्फ पतिङ्गर, रङ्गभूमि र पुनरावृत्ति बढी राम्रो लाग्दछ भने पत्थरका प्रलापहरू गजलसङ्ग्रह मनपर्दछ, । सन्तानहरूमध्ये असल सन्तान मन परेझैं ।
० तपाईंलाई सधैं सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए उल्लेख गर्नोस् ?
धेरै छन् । विभिन्न संस्थाले सम्मान गरेका दिनहरू । आफूले आदर गरेका वरिष्ठ साहित्यकारहरूसित परिचय र भेटवार्ता गर्न पाएका दिनहरू अनि आफूलाई आदर गरेर टाढाबाट भेट गर्न आउने अनुज साहित्यिक प्रतिभाहरूसित भेटघाट गरेका दिनहरू । ती सबै मेरा सम्झनामा ताजै छन् ।
० यसबाहेक तपाईंको केही कुरा भन्न बाकी छ भने बताई दिनोस् ?
साहित्य समाजको अवैतनिक चौकिदार हो । यसले देशवासीलाई आ–आफ्नो कर्मक्षेत्रमा उभिएर राष्ट्रप्रति इमान्दार नागरिक बन्न सजग गराइरहन्छ । तसर्थ समाजको सबै क्षेत्रबाट साहित्यको कदर र सुरक्षा हुनै पर्दछ । साथै साहित्यकारहरूले पनि राजनैतिक वाद र धाराबाट अलग रहेर देशको उत्थान गर्ने, समाजलाई सचेत पार्ने, बौद्धिक रचनाहरू वोधगम्य भाषाशैलीमा लेख्नु पर्दछ । वस्तुत: साहित्यकारले माटोको गीत, मान्छेको मेहनतको कथा, मानवीय भावनाको कुरा अनि मान्छेको चरित्र र यथार्थ लेख्नुपर्दछ । जुन साहित्यकारले यी कुरा लेख्न सक्तैन उसले साहित्यको सृजना गरेको होइन अपितु शब्द ब्रह्मको दुरूपयोग गरेको ठहरिन्छ । त्यसैले पत्रपत्रिकाले पनि यस्ता समाजोपयोगी रचनाहरूलाई प्राथमिकता दिएर प्रकाशित गर्नुपर्दछ जस्तो मलाई लाग्छ ।