य:मरि च्वामु, उकी दुने हाकु
ब्यूम्ह ल्यासे, मब्यूम्ह बुर्िहकुति
छिमिनं चिकु, जिमि नं चिकु
पियाच्वने थाकु, याकनं ब्यू।
(य:मरि चुच्चो, भित्र भने कालो
दिने तरुनी, नदिने बूढीढिकी
तपाइँहरुलाई पनि जाडो, हामीलाई पनि जाडो
कुरिरहन गाह्रो, चाँडो चाँडो देउ ।)
परिभाषा :—
माथि उल्लिखित काव्यात्मक अभिव्यक्ति कुनै कवि विशेषको आत्माबाट प्रस्फुटित भएको नभई य:मरि पुन्हिको कुरोलाई लिएर लोकोक्तिमा आधारित अभिव्यक्ति हो। जसमा य:मरिको आकार प्रकार, य:मरि बनाउने महिलाहरू, य:मरि पुन्हिको वातावरण आदि इत्यादिलाई झझल्को दिने गरी अभिव्यक्त भईराखेको छ । वर्ष भरिको १२ वटा पूर्णिमाहरु मध्ये मंसीर महिना अर्थात मार्गशुक्ल पूर्णिमा वा थिंला पुन्हिलाई य:मरि पुन्हि भत्रे गरिन्छ । यो दिन विशेष गरी नेवार जातिले आफ्नै प्रकारको रोटी अर्थात य:मरि पकाई खाने गर्दछन् र त्यही विशेष रोटीको नाउँमा उक्त पुर्णिमाको नाम नै ‘य:मरि पुन्हि’ रहन गएको हो। यो पूर्णिमा थिंला पुन्हि, मार्ग पूर्णिमा, य:मरि पुन्हि, धान्य पूर्णिमा, गैंडु पूर्णिमा आदि नामबाट पनि प्रचलित छ । यो पूर्णिमा भित्र धान काटेर, तलसिं हुनेले तलसिंलाई बुझाइसकेर र नहुनेले पनि आफ्नो धान सुकाई वरि भकारी भित्र भित्र्याई सक्ने हुनाले यसलाई धनधान्य पूर्णिमा भनेको हो। यसबेला पनि मोहीहरुद्वारा धान काटेर कुत बुझाई सक्ने हुनाले उनीहरुले पनि आफ्नो भकारी भरिसकेका हुन्छन्। यसरी तलसिं मोही दुबै वर्गले आआफ्नो खेतको धान भित्र्याएर भकारी भरिसक्ने भएकोले धनधान्य पूर्णिमा भनेका हुन्। नेवारहरुको कुनै पनि काम व्यवस्थित ढंगले गर्ने परम्परा रही आएको छ । त्यसैले दशैंमा पहिले जमरा छरेर उखेली सके पछि मात्र धान काट्ने काम सुरु गर्छन्। जमरा नउखेली धान काट्न हुँदैन भन्छन् खेतीवालाहरु । जमरा उखेली सके पछि देखि य:मरिपुन्हि सम्ममा धान भित्र्याई सक्नु पर्छ भत्रे धारणा रहेको छ । पहाड बासीहरुले पनि आफ्नो गाईगोरु राख्ने गोठ सफासुग्घर गरी आफूलाई खेती गर्दा धेरै सहयोग पुर्याएकाले गर्दा (हलो जोत्नु, दुध, गोबर, मल आदि दिएर) गोठ पुजा गर्ने चलन छ । यसरी गोठपुजा गर्नेहरुले य:मरि पुन्हि वा मंसीर शुक्ल पूर्णिमालाई गैंडु पूर्णिमा भत्रे गर्दछन्। नेवारहरुको आफ्नै विशेषता भएको रोटी ‘य:मरि’ नेवारहरुले खाने धेरै किसिमका रोटीहरु भए पनि नेवार संस्कृतिसँग घुलमिल भएको रोटीहरु मध्ये य:मरि पनि एउटा हो। रोटीको नाममा नै चाडपर्व मनाएर खाने य:मरी, केटाकेटीहरुको दोश्रो जन्मदिन मनाउँदादेखि बुढाबुढीहरुको जंक्व गर्दा संस्कारगत रुपमा आवश्यक पर्ने रोटी हो। त्यसरी नै हर्ष उल्लासका साथ मनाइने देउताहरुको रथजात्रामा उल्लासका साथ चढाइने रोटी हो। नयाँ घर बनाएर धुरी कस्दा गृहपुजा गरेर साना नानीहरुको जन्मदिन मनाउँदा चढाइने य:मरि जसरी नै घरलाई पनि य:मरि चढाइन्छ । नामैले मन पर्ने रोटी भएकोले विशेष गरी शुभकार्य, हर्ष उल्लासको काममा देवखट, देवता, घर, साना नानीहरु, बृद्धबृद्धाहरुलाई चढाउने कार्य नेवारहरुको आफ्नो मौलिक परम्परा हो। साना नानीहरुको दोश्रो जन्म दिनमा फूलको माला उनेझै य:मरिको माला उनेर जन्मदिन मनाइने बच्चालाई लगाई दिएर बच्चाहरुको जन्मदिन मनाउने कार्य सुरु गर्दछन्। कसै कसैले दुई वर्षदेखि बाह्र वर्षसम्म जोड जोड वर्षमा जति उमेर पुग्छ त्यति नै वटा य:मरि माला झै धागोमा उनेर लगाई दिने गर्दछन्। एकातर्फ बच्चाको उमेर यति पुग्यो भनेर संकेत गर्ने कुरा भयो भने अर्कोतर्फ य:मरिलाई गलामा नै लगाई दिएर य:मरिको महत्व दर्शाउने काम भयो। त्यसरी नै भारी जीउ हुनेहरुलाई दहीच्युरा ख्वाउँदा य:मरि नभई हुँदैन । ज्यापू समुदायमा बिहे भएको पहिलो वर्ष भाइटिका गर्न जाँदा लिएर जाने विशेष सामग्रीहरूमा य:मरि पठाउनु पर्छ ।
य:मरि बनाउने विधि
यस्तो सांस्कृतिक रुपले परिपूर्ण य:मरि निम्न तरिकाले बनाउने गर्दछन् :—
नयाँ वा पुरानो चामलको पीठो कुटेर, तातो पानीले मुछ्ने गर्दछन्। य:मरि बफ्याउँदा फुट्छ भनेर पीठो मुछेर कपडामा पोको पारेर राख्ने गर्दछन्। मुछिराखेको पीठो तातो भएको खण्डमा चम्किलो हुने भएकोले आफ्नो इच्छ्यानुसारको डल्लो लिएर तातो पानीमा तेल मिसाएर चिल्लो हुने गरी राखेका हुन्छन्। मुछेको पीठोबाट एउटा डल्लो लिएर एकातिर चुच्चो पारेर अर्कोतिर औंला घुसारेर पत्ल्याउँदै लाने गर्छन्। खोक्रो पारेको त्यस प्वालभित्र सखर, तील, नरिवल, काजुकिसमिस (विशेष गरी सखर र तील मात्र) पकाएर उक्त झोल हालेर प्वाल बन्द गर्ने गर्छन्। यसरी बन्द गर्दा अलिकति टुप्पा बाँकि रहन्छ । कसैले त्यस टुप्पोलाई सिङको आकार दिन्छन्, कसैले दुइटा वा तीनटा पातको आकार दिएर समाप्त गर्ने गर्छन्। यसरी पीठोको डल्ला भित्र गुलियो झोल राखेर स्तुपाकारमा बनाइएको
रोटीलाई य:मरि भन्दछन्। कसै कसैले य:मरिलाई ठाडो राख्न हुने गरी पनि बनाउँछन्। कसैले भने दुइटा चुच्चो बनाएर विन्ती गरिराखेको आभाष पनि दिने गर्छन्। कसैले तलि सखरको साटो मुंग दाल भिजाएर मसालासहित पिसेर पनि राख्ने गर्दछन्। त्यसरी नै चिनी, खुवा, काजु, नरिवल, छोहरा इत्यादि मसलाहरुको धुलो बनाएर पनि राख्ने गर्छन्। देउपूजा गर्नु परे वा चढाउनु परे य:मरि भित्र तीलसखर मात्र राखेर पुग्दैन । त्यस भित्र तिलसखरको सट्टा पाँचवटा अक्षता समेत राख्ने चलन छ । सांस्कृतिक लेखक ज्यापु पञ्चका भनाई अनुसार त्यसमा राखिने पाँच वटा अक्षताको अर्थ पञ्चबुद्ध अमिताभ, अमोघसिद्धि, अक्षोभ्य, रत्नसम्भव र वैलोचनको प्रतीक हो। य:मरिको आकार बौद्ध चैत्यको आकार हो। चैत्यको भित्र पञ्चतत्वको प्रतिकको रुपमा तील, सखर समेत पाँच थोक मिसाउने गर्छ । यसरी य:मरि बनाइसके पछि पहिले पहिले प्वतासि वा चाल्नीमा राखेर फ्वसि वा कसौडीमा पकाउने गर्थे । यो कलात्मक रोटी हो। य:मरि पकाउन जात्रेहरुले मुछेको पीठोलाई सकुञ्जेल पातलो बनाएर त्यस भित्र तील सखर राख्ने गर्छन्। रोटी जति पातलो हुन्छ त्यति सिपालुहरुले बनाएको भत्रे बुझिन्छ । बफ्याएर पाके पछि उचालेर चिस्याइन्छ । यसरी चिस्याए पछि य:मरि चम्किन्छ । यसरी उज्यालो भए पछि, पछिसम्म उज्यालै रहन्छ । य:मरि बनाउन मुछिराखेको पीठोलाई अण्डा चढाएर ढुंगेरोटीे (लोहँचांमरि) पनि बनाउने चलन छ । लोहँचांमरिलाई गणेशको प्रतिक पनि मान्छन्।
य:मरि बनाउने क्रममा पीठोको गणेश, लक्ष्मी, कुवेर, ज्यापु ज्यापुनी, भूतप्रेत, भेडा, पानस आदि इत्यादि बनाएर बफ्याउने पनि गर्छन्।
य:मरि पुन्हिको पूजा
हरेक पूर्णिमाको दिन बुद्धको पूजा गर्नु भनेको साधारण कुरा नै भयो। यो दिन बिहान विशेष गरी ढिकुटीलाई चोखोनितो गरी धानचामलको भकारी, घ्याम्पो आदि भाँडाहरुमा धानचामल भरी भरी राखेर त्यसमा चामलको पीठोद्वारा तयार पारिएको य:मरि, लोहँचांमरि, लक्ष्मी, गणेश, कुबेर राखी फूल चन्दन, नैवेद्य, फलफूल चढाई पूजा गरी चार दिन सम्म थापना गर्ने गरिन्छ । दशैंमा जस्तो य:मरि साथै विभित्र देवदेवी थापना गरी चार दिन सम्म पूजा गरी, चार दिन पछि पूजा समाप्त गरी प्रसादको रुपमा य:मरि, लोहँचांमरि परिवारका प्रत्येक सदस्यलाई बाँडेर खाने गरिन्छ ।
यो पूर्णिमाको वारे विष्णु पुराणमा यसरी लेखिएको छ । मार्गशुक्ल पूर्णिमाको दिन धानचामल राखिने भकारीमा य:मरिको कुबेर, लक्ष्मी र गणेश बनाई थापना गरी, चार दिन सम्म नित्य विधीपूर्वक पूजा गरी रोटी चढाउने, अरुलाई पनि रोटी दान गरी आफूले पनि खाने। यो कार्य गरेपछि वर्ष दिनभरिको लागि धनसम्पत्ति र अत्र स्थिर भएर कल्याण हुन्छ (पुण्यरत्न: १०८४:७३) । यो पूर्णिमामा पूजा गरिने समस्त देवदेउताहरु धन सम्पत्तिहरु अभिबृद्धि गर्ने देवताहरू हुन्। गणेश मंगलमयका मूर्ति, कुबेर सम्पत्तिका धनी, लक्ष्मी सम्पत्तिदाता नै भइन्। य:मरि पुन्हिमा लक्ष्मी, वसुन्धरा, गणेशको पूजा गर्ने चलन छ । धनधान्य भएको बारे एउटा लोककथा प्रचलित छ । य:मरि पुन्हिको खुसियालीमा यो कथा सम्झिने परम्परा छ । साथै यो कथाबाट शिक्षा लिएर ‘त्य:छिं त्य:’ माग्न आउनेहरुलाई य:मरि, धान चामल आदि दान दिने वा ख्वाउने परम्परा रही आएको छ । पांचाल (पनौती) देशको कुनै एउटा गाउँमा बस्ने सुचन्द्र नामक मानिस बस्दथे। उनको पतिपत्नी दुवै गरीबहरुप्रति अति नै दयालु थिए ।
यो जोडी गरीवहरुप्रति कत्तिको दयालु रहेछ भनी बुझ्न धनका देवता कुबेर गरीबको भेष धारण गरी सुचन्द्रको घरमा माग्न गएछ । गरीवरुपी कुबेरलाई साच्चिकै गरीव ठानी सुचन्द्रकी जहानले डाकेर आफ्नो घरको तलामा लगी नयाँ लुगा फेरी दिएर मीठो खाना ख्वाएर मानमनितो गरेका हुनाले गरीवको भेष धारण गरेका कुबेर खुसी भएर आफूलाई सेवा गर्ने सुचन्द्रकी जहानलाई ज्ञानगुनका शिक्षा सहित त:सि (विमिरो) एउटा पनि दिएर अन्तरध्यान भएछन्। पछिबाट कुबेरले दिएको ज्ञानगुनका सबै कुरा आफ्नो श्रीमानलाई सुनाइन्। दुबै जोडी मिली सखरतीलको झोल य:मरि भित्र राखेर, पीठोको
कुबेर बनाई बफ्याएर कुबेरले दिएको बिमिरो र य:मरि सबै अत्रको भकारी भित्र राखेर चार दिनसम्म पूजा गरेर त्यसै राखिछोडे। य:मरि आफूले पनि खाए, अरुलाई पनि बाँडिदिए । जति दान गरे, उत्तिकै अभिबृद्धि भएर आयो। कुबेर, य:मरि र बिमिरो राखेर पूजा गरेको भकारीबाट जति सुकै धान निकाले पनि अलिकति पनि नघटी जतिकोतति नै भइरह्यो। त्यसबेलादेखि य:मरि बनाएर ढिकुटी, धान भकारी आदिमा पूजा गरेर आफूले पनि खान,े अरुलाई पनि बाँडिदिने, अनि माग्न आउनेहरुलाई पनि दिने परम्परा बनेको हो भत्रे भनाई छ ।
ग्वह्र पूजा (पाटीपूजा)
य:मरि पुन्हिको दिन बिहान य:मरि, ल्वहँचा मरि आदि बनाइसकेर कोठा वा भकारी पूजा गरिसके पछि बेलुका पाटीपूजा (सिलोटपूजा) गर्ने भनी एउटा नाङलोमा पाटी (सिलोट) सँगै किताब समेत राखेर य:मरि, ल्वहँचा मरि चढाउने गर्छन्। पाटीपूजा सकिसके पछि मकलमा आगो बालेर बदाम खाएर आगो ताप्ने चलन पनि छ । य:मरि पुन्हि जाडो याममा पर्ने मात्र होइन, म्हपूजादेखि जाडो सुरु भएर य:मरि पून्हिसम्ममा जाडो निक्कै नै बढिसक्ने हुनाले जाडो छल्नको निम्ती मकलमा आगो ताप्ने काम थाल्दछन्। यसबेला मकल ताप्न सुरु गरेर सिलाचह्रे (शिवरात्री)मा समाप्त हुन्छ । वास्तवमा य:मरि पुन्हिमा ज्यापुहरुको धानको भकारी सँगसँगै खेती गर्दा चाहिने औजारहरु जस्तो कुटेकोदालो, खटामुग आदिको पनि पूजा गरने चलन छ । त्यसरी नै बैद्य काम गर्नेहरु वा आफूले अध्ययन गरेको बिद्याबाट जीविका चलाउनेहरुले ग्वह्रपूजा वा पाटीपूजा गर्ने चनल छ । धान मात्र पूजा गरने होइन कि आफ्नो आयश्रोतको पनि पूजा गर्नु पर्छ भत्रे परम्परा हो। दशैंमा आफ्नो आय आर्जनगर्ने वस्तुलाई पूजा गरेर शक्तिको उपासना गर्दछन्भ ने य:मरि पुन्हिमा चाहिं आफ्नो आयश्रोतको वस्तुलाई सम्पत्ति आर्जनको निमित्त पूजा गर्दछन्।
य:मरिको दार्शनिक पक्ष
य:मरिको आकार भनेको बौद्ध स्तुप हो। त्यसो हुनाले य:मरि खानु भनेकै बौद्ध ज्ञान प्राप्त गर्नु हो। शिक्षा प्राप्त गर्नको निमित्त मनस्थिति स्थिर गर्नु हो। आफ्नो मनलाई स्थिर राखेर बसमा राख्न सक्यो भने आत्मज्ञान प्राप्त गर्न सकिने हो। आफूसित भएको ज्ञान आफैसित मात्र सीमित नराखी सक्दो सबैलाई बाँडिदिने हो। त्यस्तै य:मरि पनि आफैले मात्र नखाई सबैलाई बाँडेर ख्वाउने हो। अर्थात य:मरिपुन्हिमा वा आफ्नो जन्मोत्सवमा आफूले मात्र नखाई त्य:छिंत्य: (य:मरि माग्न आउँदा गाइने भैलोको पहिलो हरफ) माग्न आउनेहरुलाई बाँडि दिने हो। जन्मदिनमा मुछेको दहिच्युरासँग
बाँडिदिन्छन् भने बच्चाको दुई वर्षे जन्मदिन भए आफन्तहरुलाई बाँडिदिने चलन छ । अझ मामा, फुपु, दिदीबैनीहरुकहाँ त घरैमा पठाई दिने चलन छ । जसरी कसैसँग ज्ञान आर्जन गर्न अप्ठ्यारो मात्रु पर्दैन त्यसरी नै य:मरि पनि कसैसँग मागेर खान लाज मात्रु पर्दैन । त्यसलै य:मरि पुन्हिमा घरघर गएर य:मरि मागेर खान्छन्। य:मरि ज्ञानको प्रतिक भएकोले पूर्णिमाको दिन पुस्तक वा पाटी पूजा गर्नु सान्दर्भिक नै देखिन्छ । पाटी भनेको सरस्वतीको प्रतिक हो। पाटीले नजात्रेहरुलाई ज्ञानगुण प्रदान गर्दछ । त्यसैले पूर्णिमाको दिनमा पूजा गरेर ज्ञान आर्जन गर्ने हो।
त्य:छिं त्य:
नेवार, ठूलो सानो जस्तो सुकै होस् दान नगरी सन्तोष गर्न नजात्रे जाति हो। बच्चा जन्मादा आगनमा दिने दान, जन्मदिन मनाउँदा य:मरि, दहीच्युरा दान, बाँचे दान, मरे दान, धर्म गरे दान, पूजा गरे दान, जे गर्दा पनि दान गर्ने चलन छ । गुरुजीलाई दान, सन्यासीलाई दान, माग्नेलाई दान, आफन्तलाई दान, जस्लाई पनि दान गर्नु पर्ने जात । दान पनि यही भत्रे छैन । खाने कुरा, पिउने कुरा, रकम, वस्त्र जे सुकै भए पनि बाँच्नेको नाममा दान, मर्नेहरुको नाममा दान, त्यस्तै य:मरिपुन्हिमा य:मरिको साथै धानचामल, पैसा, आलु जे सुकै दान गर्ने गरिन्छ । यसरी दान लिनुलाई त्यछिं त्य: लिने भन्दछन्। टोल टोलका केटाकेटीहरु भेला भएर घरै पिच्छे त्य:छिं त्य: मागने गर्दछन्। एउट टोलको अर्को टोलमा पनि त्य:छिं त्य: माग्न जाने गर्दछन्। त्य:छिं त्य: मागनेहरुलाई य:मरि, चामल, धान, पैसा जे पनि दान गर्न सक्छन्। यसरी त्य:छिं त्य: माग्न जानेहरु कसै कसैले योजना बनाएर पनि माग्न जाने गर्दछन्। योजना सहित नै माग्न जाने गर्दछन्। यस्ता धेरै जसो सामाजिक कामको निम्ति माग्ने गर्दछन्। यसको निम्ति
पहिले नै सूचना दिएर जाने गर्दछन्। य:मरि पुन्हिमा त्य:छिंत्य: माग्न आउनेहरुको भाका भने ठाउ हेरेर, मान्छे हेरेर फरक फरक पाइन्छ । काठमाडौं भित्र त्य:छिंत्य: माग्न आउँदा गाउने भाषा यस्तो छ :
त्य:छिं त्य: बकछिं त्य:
लातावाता कुलिचां जुछिं त्य:
य:मरि च्वामु उकी दुने हाकु
ब्यूम्ह ल्यासे, मब्यूम्ह बुर्िहकुति
छिमिनं चिकु जिमिनं चिकु
पिया च्वने थाकु
यही भाकालाई यसरी पनि गाइन्छ ।
त्य:छिं त्य: बकछिं त्य:
लातावाता कुलिचां जुछिं त्य:
य:मरि च्वामु उकी दुने हाकु
ब्यूम्ह ल्यासे, मब्यूम्ह तितिकुति बुढि
पहिलेको र पछिको उस्तै भए पनि पछिल्लोमा ‘तितिकुति’ एउटा शब्द थपिएको छ । यही भाकालाई बनेपाका नेवारहरु यसरी गाउने गर्छन्।
य:मरि चुइं च्वंथाय् लाक हइ
ब्यूसा ल्यासे मब्यूसा कुरिति
यस्को सन्दर्भ य:मरि पोलेर (चुइं मचा भाषां) बसिरहेको ठाउँ सम्म दिन ल्याउँछन् भनेको हो। दिए भने रितिथिति जानेका रहेछन्, दिएनन् भने रितिथिति जानेका रहेनछन् भत्रे हो। त्यस्तै
य:मरि चुइं च्वकाय् लाक आइँ
ब्यूम्ह ल्यासे मब्यूम्ह बुढीकुटी
यसको अर्थ य:मरि पोलेर चुच्चो पट्टिबाट टोकेर खाने भनेको हो । रोटी दिएछन् भने तरुणी (राम्री) दिएनछन् भने नराम्रो मन भएकी बुढी (नराम्री) भत्रे बुझिन्छ । य:मरि पुन्हिमा चलन चल्तीका भाका भनेका माथि उल्लेख गरिएका भाकाहरु हुन्। काम गर्ने योजना राखेर त्य:छिं त्य: माग्न गएछन्भ ने त्य:छिं त्य: बकछिं त्य:, लातावाता कुलिचां जुछिं त्य:को भाकामा गीत बनाएर गाउने चलन छ ।
वसं जाने
य:मरि पुन्हि अरु जातिले भन्दा ज्यापू समुदायले धुमधामसित मनाउने गर्छन्। खेतीपातीको काम बिग्रन्छ भनेर आफ्नो बाजाहरु थन्क्याइराखेको ठाउँबाट कागेश्वर अष्टमीको दिन पारेर निकालेर ज्यापुहरुले आफ्ना छोराहरुलाई धिमे बाजा बजाउन र धुँज्याबुँज्या (रंगीविरंगी कपडाहरुले सजाएको लिङ्गो) घुमाउन सिकाउँछन्। यसरी सिकाई राखेको बाजालाई टोल टोलमा घुमाउन लैजाने कामलाई वसं वनेगु (वसं जाने) भन्दछन्। यो वसं जाने काम य:मरि पुन्हिदेखि सुरु गर्दछन्। वसं जाँदा साधारण धिमे मात्र बजाउने होइन, धिमेको तालमा धुँज्या बुज्याँ नै घुमाउने गर्दछन्। मान्छेको
काँधमा चढेर धिमे बजाउने, धुँज्या बुज्याँ घुमाउने गर्दछन्। ४मान्छे ५ मान्छे अग्लोमा चढेर पनि धिमे बजाउन र धुँज्या बुज्याँ घुमाउने गर्दछन्। यसरी रोटीकै नाममा नामाकरण भएको य:मरि पुन्हि तलसिङ मोही दूवै थरिले धान भित्र्याई सकेपछि पुजा गरेर, य:मरि बनाएर, चढाएर आफूहरु पनि खाने अरुलाई पनि बाँडी दिने दिन हो। यसबेला धान सँगसँगै लक्ष्मी, सरस्वती, वसुन्धरालाई पनि पूजा गरेर कसैले नख:को रुपमा कसैले चख:को रुपमा मनाउने गर्दछन्। नेवारहरुले आफन्तहरुको वीचमा, सना गुठी, सिगुठीहरुले पनि य:मरि पून्हि मनाउने गर्दछन्। धेरै जसोको नभई नहुने
सिगुठी वा सनागुठीहरुमा चन्दा उठाएर पनि नख: मनाउने गर्दछन्। कसै कसैको बालि भित्र्याई सकेपछि मनाउने गुठी हो। धान भित्र्याई सकेपछि सनागुठी वा सिगुठीको जरिवाना वा चन्दा आदि तिर्न पनि सजिलो हुनु स्वाभाविकै हो। यो गुठी सम्पत्र गर्न थ्वँकि (गुठीमा जाँड बनाउन उठाइने चामल चन्दा) उठाउने परम्परा पनि छ । यस वखत धान चामल हुने भएकोले थ्वँकि तिर्न सजिलो हुनु स्वाभाविकै हो। कोही भने य:मरि पुन्हिमा केही पनि गर्नु नपर्नेहरु पनि छन्। कसैको भने भकारी मात्र पूजा गनु पर्ने तर य:मरि पोल्न नपर्नेहरु पनि छन्। पाखरेली नेवारहरुको य:मरि पुन्हिको अवसरमा भूई पोतेर, नङ काटेर, स्नान गरेर, चोखो नितो गरेर धुमधाम सित मनाउने चलन छ
साभार
मौलिक कृति नेवा: भाय् (नेपाल भाषा) मा
डा. चुन्दा बज्राचाय
नेवा: सांस्कृतिक चाडपव
नेपालीमा अनुवादक
देवेन्द्र कुमार मल्ल