अमेरिका, अस्ट्रेलिया, सिङापुर, जापान, बर्मा, भारत, कतार लगायत २२ देश र नेपालका ७७ जिल्ला भ्रमण गरेका युवराज नयाँघरेको मूल विधा– निबन्ध र नियात्रा हो । नेपाली ठेट, झर्ओ शैली, ग्रामीण जीवनको सूक्ष्म अध्ययन नै उहाँको लेखनको मुख्य विशेषता हो। उखान र टुक्काको अधिक प्रयोग गर्ने खप्पिस उहाँका नदी, अनाम पहाडमा फनफनी, डलरको डायरी, आमिल, ह्वाइट हाउसको घामपानी, नीलडाम,तनक्खा, हरियो राहदानी, घामको चुम्बन, याकजी आदि प्रकाशित कृतिहरू हुन् । नेपाली साहित्यमा निबन्ध र नियात्रामा अनवरत लेख्दै आउनुभएका युवराज नयाँघरे संग जनमतले पुस्तक र पढ्ने प्रवृत्तिको सेरोफेरोमा रहेर गरेको कुराकानी ।
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
अहिले म बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’ पढ्दै छु । इतिहास,भाषा, जाति र सभ्यताको
निकै सूक्ष्म विवेचना गरिएको पुस्तक रहेछ यो ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
पुस्तक धेरै पढियो । जाने देखि पढ्न थालेको त्यो गति रोकिएको छैन पनि । महाकवि देवकोटाको
कुञ्जिनी, पर्ल एसको द गुड अर्थ र निर्मल वर्माको चिडौँ पर चाँदनीले हृदयमा गहिरो छाप छोडेका छन् ।
तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
मलाई शान्त र एकान्त ठाउँ भए पुग्छ । लेखकका लागि यो ऐकान्तिक वातावरण बढी चाहिन्छ । पढ्नका लागि पहिला–पहिला राति पढ्न गर्थे । अहिले पछिल्लो समय यात्रा गर्दा प्राय: पढ्ने मन हुन्छ ।
साहित्यका विविध विधा मध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
मलाई साहित्यमा हरेक विधाको महत्त्व उत्तिकै, ऊर्जाशील र अर्थपूर्ण नै छ जस्तो लाग्छ । तर पनि निबन्ध विशेष, शालीन र उच्च तहको लाग्छ । किनभने बौद्धिकता र कलाको अद्भुत अभि व्यक्ति हुने ठाउँ यही मात्र हो भन्ने मेरो ठम्याइ छ ।
सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
सानोमा मैले भेटे सम्मका पुस्तकहरू पढेँ । यो–त्यो, राम्रो–नराम्रो वा योग्य–अयोग्य भन्ने छुटाइनँ । अझ बढी त प्रकाश कोविद, युधीर थापाका उपन्यास बढी पढिए । पछि उपन्यासको त्यही पढ्ने लतले बिपी, इन्द्रबहादुर राई, विजय मल्ल, पारिजात, गोठाले र भवानी भिक्षुका उपन्यास पनि छिचोलियो । नबुझे पनि पढ्ने चेतनाले निरन्तर चिमोटिरहने हुनाले हृदय बलशाली भएको हुनुपर्छ मेरो ।
कस्ता पुस्तकहरू पढ्न बढी मन पर्थ्यो ?
कथा, छन्दका पुस्तक पनि मैले छानेर पढेँ । माधव घिमिरे, लेखनाथको छन्द उडान र सरलतापन म निकै रुचाएर पढेँ । अलिक पछि तारानाथ शर्माका नियात्राले तानेर उनलाई खुबै पढेँ मैले ।
तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ?
चार–पाँच कक्षा देखि एसएलसी परीक्षा दिउन्जेल निकै कृतिहरू पढेँ । आइए र बिए पढ्दासम्म निकै छानेर, रोजेर र खोजेर पुस्तक पढ्ने आनीबानी बसिसकेको थियो । बरु पछिल्लो समय पुस्तकसँग नजिकिन सकेको छैन म । औपचारिक जीवनशैलीले अल्मलाएको छ मलाई ।
धेरै पटक दोहोर्याएर पढेका पुस्तकहरू कुन–कुन हुन् ?
भूपिका कविता, देवकोटाका निबन्ध, बिपीका उपन्यासहरू निकै खेप पढेको छु । घुम्ने मेच माथि अन्धो मान्छे, देवकोटाको लक्ष्मी निबन्ध सङ्ग्रह र बिपीको सुम्निमा र तीन घुम्ती दोहोर्याएर मात्र होइन तेहेर्याएर पनि पढेको छु । अहिले तारानाथ शर्माको चरी भर्र भन्ने निबन्ध सङ्ग्रह दोहोर्याउँदै छु ।
दोहोर्याएर पढ्नुको कारण खासमा के थियो ?
लेखकभन्दा लेखन ठूलो कुरा हो । लेखनमा जीवन, काल चेत, हार्दिकता र सरलताले तानेपछि पाठक सधैँ लेखक प्रति आकर्षित भइरहन्छ । मलाई लाग्छ माथि दोहोर्याएका कृति मात्यो गुण, विशेषता र लेखकीय खुबी भएकैले म नजिक हुन सकेँ हुँला ।
ती पुस्तकहरूमा असाध्यै मन परेका पक्ष के हुन् ?
कला र विचारको सुन्दर अभिव्यक्ति सँगै कला प्रमुख भएकैले मैले माथि भनिएका कृतिहरू पटक–पटक पढ्न सकेको हुँ । संवेदनालाई साथी बनाएर लेखिएका कृति सँग हाम्रो पनि हृदय जोडिन्छ । धेरै पाठकको चाहना पनि त्यही हुँदो हो ।
पुस्तक पढिरहँदात्यसकापात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
पुस्तकमा डुब्नु भनेको अर्को लोकमा पुग्नु हो । जब अर्को लोकमा पुगेर पढ्ने गरिन्छ बल्ल ज्ञानगंगामा पौडेको आनन्द र सुख पाइन्छ । धेरै किताबहरू अनुभूति भन्दा विवरण हुन्छन् ।विवरणलाई आँखाले पढे पनि चेतनाले पढ्दैन । पात्र, लेखक र परिवेशलाई हातेमालो गरी–गरी पढ्दा बल्ल कृति भित्र प्रवेश गरेको खुसी आउँछ ।
तपाईँको विचारमा पढ्नु केका लागि हो ?
आफ्नो ज्ञानको आकाश बिस्तार गर्न पनि पढ्नु पर्छ । अझ आफ्नो सिर्जनात्मक गतिमा बल, सामर्थ्य र क्षमता थप्न पनि पढ्नु आवश्यक छ । नपढ्नेले गफ जति गरे पनि हुन्छ– साँच्चैको सही कुरा गर्न नपढेर हुँदैन नि !
कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
कला, विचार र हार्दिकता भएका कृतिसँग जीवनको नाता नजिकको हुन्छ । म दर्शनलाई सरलता र सकारात्मक भावले लेखिएका कृतिबाट बढ्ता छोइन्छ ।
पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
धेरै कृति छन् । बाहिरका किताब बारे मेरो ज्ञान फराकिलो छैन । नेपालीमा सकारात्मक, चाखलाग्दा र गहकिलाकिताबनिकै छन् । देवकोटाको कुञ्जिनी, शङ्कर लामिछानेको एब्स्ट्राक्ट चिन्तन प्याज, कृष्णचन्द्रसिंह प्रधानको आगत पालामा टेकेर, इन्द्रबहादुर राईको आज रमिता छ, बिपीको आत्मवृत्तान्त, लैनसिंह बाङदेलको रोमको एउटा पूmल र पेरिसको एउटा काँडा, ध्रुवचन्द्र गौतमको अलिखित, पारिजातको अनिँदो पहाडसँगै, डा. माधव पोखरेलको मेरो मान्छे, कृष्ण धरावासीको शरणार्थी हुन्– त्यसो त झट्ट सम्झिँदा मन परेका यति कृतिमा पनि अनेक कारणले सम्झिनुपर्ने अन्य निकै पुस्तक नभएका होइनन् ।
तपाइसँग कति जति पुस्तकहरूको कलेक्सन होला?
म सँगअहिले पाँच हजारको संख्यामा किताब छन् । डेरा सरिरहँदा धेरै किताबका व्यवस्थापन गर्न काठमाडौंमा गाह्रो छ । धेरै पुस्तकहरू देशका विभिन्न ठाउँमा बनेका पुस्तकालयलाई दिँदा–दिँदा आवश्यक पुस्तकहरू अहिले रहेका यत्ति छन् । तर पनि व्यवस्थित गर्न सकेको छैन मैले ।
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक?
धेरै छन् । रुसी साहित्यका चेखोव, भोल्टेयर, पुस्किन सबैका किताब पढ्न मन छ । भारतको प्राचीन साहित्यतिर मन गएको छ । दक्षिण अमेरिकी साहित्यमा प्रतिनिधि ग्रन्थहरु के के छन् भनेर अचेल खोज खाज गर्दैछु । हेरौँ,कति भेला पारेर पढ्न सक्छु ।
मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा र गोपालप्रसाद रिमाल मलाई विशेष मन पर्छन् । भारतका निर्मल बर्मा, प्रेम चन्दलाई रुचाएर पढेँ । रुसका एन्टोन चेखोव अद्भुत लेखक लाग्छन् मलाई ।
अध्ययन र लेखाइबाहेकका रुचिहरू के छन् ?
लेख्नु, पढ्नु जीवनकै अंग भइसक्यो । हिमालतिर घुम्न, सङ्गीत सुन्न विशेष मन पर्छ । हिमाल वा पहाड घुमेर आएका दिन अरू १० वर्ष उमेर ज्यानमा भरेर फर्किएँ भन्ने खुसीले मलाई अँगालो हालिरहन्छ ।
नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
नेपाली साहित्यमा भाषा, दर्शन, कला र शैलीको उन्नति कालागि पढ्नुपर्ने धेरै पुस्तकहरूको सूची भेटिन्छ । देवकोटा, माधव घिमिरे, शङ्कर लामिछाने, तारानाथ शर्मा, इन्द्रबहादुर राई र भूपी शेरचनका सबै पुस्तक पढ्दा हुन्छ– नयाँ पुस्ताले । किनभने उनीहरुका लगभग सबै पुस्तकहरू मानक छन् । एउटाले अपुरो होइन्छ– त्यसैले नाम लिएका सबै लेखक युग हाँकेका र समयलाई नेतृत्व दिएका बलशाली लेखकहरू हुन् । तिनलाई पढ्न सके प्रज्ञाको राप, ताप र आलोक पाइन्छ ।
तपाईँका पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
सुरुमा लामो समय म निबन्धमा केन्द्रित भएँ । विगत २० वर्षयता नियात्रामा डुबेर लागिपरेँ– त्यही विधामा ५–६ वटा नियात्राका कृति आए । अब बिस्तारै फेरि निबन्धतिर लाग्ने मन पलाएको छ । खास स्वप्न योजना नभए पनि अलिक फरक धारमा निबन्ध लेख्ने कुरो गुजुगुजु खेल्दै छ मनमा । त्यसो त म घुम्ने कुरामा सम्झौता गर्दिनँ । यो पनि लेखनकै एउटा हाँगो हो भन्ने लागिरहेको छ ।
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ?
स्रष्टा र सिर्जना बीच आत्मा र देहको जत्तिकै सम्बन्ध छ । लेखकले नलेखे, सिर्जना हुन्न । सिर्जनालाई लेख्ने नै स्रष्टा हो । शरीरबाट छायाँ जान नसके जस्तै, इन्द्रेणीबाट रङ छुट्याउन नसके जस्तै, नदीबाट लहर अलग्याउन नसके जस्तै र ओठबाट वाणी बेग्ल्याउन नसकेजस्तै हो लेखक र रचनाको सम्बन्ध । त्यसैले स्रष्टाले अनुभव गरेका, भोगेका, कल्पेका र मन्थन गरेका धेरै कुरा सिर्जनामा आउँछन् । किनभने सिर्जनामा त्यो आउनु नै सत्य र जीवनको समग्रता हो ।
तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
म कुनै खास आइकन राखेर अगाडि बढेको लेखक होइन । हुरीको पात भएर उड्दै गएको पात हुँ म । तुलसीको मोठमा परेँ र पूजित भएँ– गोबरको खाडलमा खसेको भएँ त्यहीँ कुहिन्थेँ । समाजको घन ठोकाइ, आफ्नो मिहिनेत र समयको थिचथाच बाट आँट गरी निस्केको म लेखक हुँ । कुनै एक पक्ष वा घचेटाइले मेरो सिर्जनात्मक गति हुर्दुराएको होइन । हो, मेरो जीवनमा उड्न, वेग मार्न र पखेटा फड्फडाउन सिकाउने मेरी आमाको अत्यन्तै ठुलो योगदान छ । आमा पछि दिदी देवीका बरालको तिर्नै नसक्ने गुन छ । अरू राखिएका सालिक वा मूर्तिलाई साक्षी राखेर मैले साहित्य लेखिनँ । मेरो मनको, समाजको सालिक नै मसँग गाली र ताली दिइरहने एउटा प्रबल आधार हो भन्ने ठानेको छु मैले ।